राजमार्ग छेउका होटलहरुको मूल्यसूची अनुगमन

चितवन, १६ साउन । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले रामनगरका होटलहरुको मूल्यसूचीको अनुगमन गरेको छ । राजमार्ग छेउका होटलहरुले खाना तथा खाजामा जथाभावि मूल्य लिएको गुनासो बढेपछि मञ्चले बिहीबार अनुगमन गरेको हो ।
राजमार्ग छेउमा सञ्चालनमा रहेका होटलहरुले खानामा एकरुपता नभेटिएकोले यसबारे ध्यानाकर्षण भएको मञ्चले जनाएको छ । राजमार्ग छेउका होटलहरुमा खाना खाँदा यात्रुहरु नठगिउन् भनेर खानाको मूल्यमा एकरुपता ल्याउने उद्देश्यले अनुगमन गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । रामनगरमा सञ्चालनमा रहेका होटलहरुले मनपरी रुपमा खानामा मूल्य लिएको भेटिएकोले जिल्ला प्रशासन कार्यालयमा यस बारे पत्रचार गरिने श्रेष्ठको भनाइ थियो ।
कतिपय होटलहरुले मूल्य सूची नै नराखेको समेत पाइएको उल्लेख गर्दै श्रेष्ठले त्यस्ता होटलहरुलाई मूल्य सूची उपभोक्ताहरुले देख्ने गरि राख्नको लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिए । चितवनको रामनगर, जुगेडी जस्ता ठाउँहरुमा यात्रु बसले खाना खुवाउने गरेका छन् । होटलहरुले सरसफाईमा ध्यान नदिने तथा मनपरी रुपमा खानाको पैसा असुल्ने गरेको यात्रुहरुले गुनासो गर्दै आएका छन् ।
राजमार्गका होटलहरुले समेत यात्रु बसका चालकहरुलाई प्रत्येक टिपमा भत्ता दिनुपर्ने बाध्यता रहेकोले ग्राहकहरुलाई सस्तो मूल्यमा गुणस्तरीय खाना खुवाउन समस्या रहेको गुनासो गरे । यात्रु बसका चालकलाई भत्ता नदिएको खण्डमा भोलिपल्टदेखि आफ्नो अगाडि बस नरोकेर अन्यत्रै पु¥याइदिने कारणले समेत आफ्नो लगानीको सुरक्षाको लागि बसका चालकलाई भत्ता दिन बाध्य हुनुपरेको होटल सञ्चालकहरुले बताएका छन् ।