प्रधानमन्त्रीको निर्देशन : कृषि विश्वविद्यालयले निजी क्याम्पसलाई दिएको सम्बन्धन रोक

चितवन, १६ साउन । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले गोप्य रूपमा निजी क्याम्पसलाई दिएको सम्बन्धन स्थगित गर्न मंगलबार प्रधानमन्त्री कार्यालयले आदेश दिएको छ ।

विश्वविद्यालय स्थापनाको मर्मविपरीत अपारदर्शी रूपमा एकैपटक आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विषयमा चर्को विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओली विश्वविद्यालयको कुलपति समेत हुन् ।

हाल दिइएको सम्बन्धन स्थगित गरेर कृषि तथा वन विज्ञानसँग सम्बन्धी विषयलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययनका लागि कार्यदल गठन गर्न समेत प्रधानमन्त्री कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै अन्य विश्वविद्यालयबाट भइरहेको सम्बन्धनलाई कसरी प्रभावकारी बनाउने, कुन विषयमा कति सम्बन्धन दिनुपर्नेलगायत विश्वविद्यालय तहको शिक्षालाई कसरी स्तरीय बनाउन सकिन्छ भन्ने विषयमा पनि अध्ययन गर्न शिक्षालाई निर्देशन भएको छ । तर प्रधानमन्त्री कार्यालय तथा शिक्षा मन्त्रालयले समेत यस निर्देशनलाई सार्वजनिक गरेको छैन ।

शिक्षा मन्त्रालय स्रोतले भन्यो, ‘प्रधानमन्त्री कार्यालयबाट सिधै विश्वविद्यालयलाई सम्बन्धन स्थगित गर्न आदेश गएको छ । यसबारेमा थप अध्ययन गर्ने विषयमा शिक्षालाई पनि निर्देशन आएको छ ।’ शिक्षामन्त्री विश्वविद्यालयको सहकुलपति रहने कानुनी व्यवस्था छ ।

उक्त विश्वविद्यालयले प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संगठनसँग भएको सहमतिलाई तोड्दै गत असार २१ गते एकै पटक आठ वटा निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो । विश्वविद्यालयका उपकुलपतिको अध्यक्षतामा रहने कार्यकारी परिषद्को बैठकले गरेको उक्त निर्णय असार २६ गते मात्र सार्वजनिक भएको थियो ।

सार्वजनिक लगत्तै प्राध्यापक तथा विद्यार्थीहरू विश्वविद्यालय र आंगिक क्याम्पसको शैक्षिक र प्रशासनिक काम ठप्प पार्दै तीन सातादेखि आन्दोलनमा उत्रेका छन् । अन्नपुर्ण पोष्ट्बाट

Promise Education Consultancy