दुई वर्षभित्र नेकपाको महाधिवेशन, संविधानबारे निर्णय लिँदा पार्टीमा दुई तिहाइ मत अनिवार्य !

सन्ताेष भट्टरार्इ

चितवन, साउन १५  ।  नेकपाले आगामी महाधिवेशनलाई ‘एकताको राष्ट्रिय महाधिवेशन’को नाम दिएको छ । नेकपाको महाधिवेशन आगामी दुई वर्षभित्र सम्पन्न गरिसक्ने समयसिमा तोकेको छ । महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय कमिटीले तोके बमोजिम हुने भएको छ । महाधिवेशन सहमति र समझदारीका साथ सञ्चालन गर्न महाधिवेशन आफैँले आवश्यक विधि, प्रक्रिया र संरचना तय गर्ने नेकपाको विधानको धारा–१७ मा उल्लेख छ ।

 

त्यस्तै, पार्टीको विधान, राजनीतिक प्रतिवेदन र आवश्यक अन्य दस्तावेजहरु पारित गर्ने, केन्द्रीय कमिटी, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन पनि महाधिवेशनबाट पारित विधानअनुसार हुने भएको छ ।

नेकपाले संविधान संशोधन लगायतका विषयमा निर्णय लिँदा केन्द्रीय कमिटिको दुई तिहाइ मतले अनुमोदन गर्नुपर्ने बाध्यात्मक व्यवस्था कायम गरेको छ । विधानको धारा–६९ (क) मा भनिएको छ,‘नेपालको संविधानले व्यवस्था गरेको संसद्को दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्ने विषयमा निर्णय लिँदा पार्टी केन्द्रीय कमिटीको दुई तिहाई बहुमत आवश्यक हुनेछ ।’

नेकपाले आफ्नो पहिचान ‘नेपाली सर्वहारा श्रमजीवी वर्गका जनता’ को लागि राजनीति गर्ने प्रतिनिधि संस्थाको रूपमा अथ्र्याएको छ । नेकपाको अन्तरिम विधानमा भनिएको छ,‘यसले मजदुर, किसान, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति र सम्पूर्ण जाति, भाषा एवम् संस्कृतिका जनसमुदायको हितलाई प्रतिनिधित्व गर्छ ।’

समाजका विद्यमान रहेका सबैखाले शोषण, उत्पीडन र विभेदहरूको अन्त्यलाई मार्गचित्र बनाएको नेकपाले मानव जातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्न सकिने विश्वास लिएको छ । नेकपाले पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद, न्यूनतम कार्यक्रम जनताको जनवादका साथै समाजवाद उन्मुख भनी किटान गरेको छ ।

नेकपाले शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक विधिबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्ने निति अवलम्बन गरेको छ भने राष्ट्रिय पुँजीको विकास गरी सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्नुलाई तात्कालिक लक्ष्य तोकेको छ ।

नेकपाले आफ्नो विधानमा विपक्षी दलहरु कांग्रेस, संघीय समाजवादी फोरम, राजपा, राप्रपालगायतका अन्य साना दलहरूमाथि कुनै पनि प्रकारका आक्षेप र गालिगलौज गरेको छैन । तर, नेकपाले दलाल नोकरशाही पुँजीवादी, शोषण, उत्पीडन र साम्राज्यवादी हस्तक्षेपलाई परास्त गर्नुलाई तात्कालिक कार्यभार किटान गरेको छ ।

त्यसैगरि आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सबै अवशेषहरूलाई समाप्त गर्नु र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माणलाई प्राथमिकतामा राखेको छ । संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध रहने पनि नेकपाको अठोट छ ।

नेकपाले मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद भने पनि ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवाद’बारे आगामी महाधिवेशनसम्ममा विधिसम्मत ढंगले छलफल गरी टुंग्याउने भएको छ । पार्टी जनआधारित कार्यकर्तामा निहित हुने बताएको नेकपाले पार्टीका सबै सदस्यहरु समान तथा पार्टीको सार्वभौम अधिकारप्राप्त रहने उल्लेख छ ।

संगठनात्मक सिद्धान्त ‘जनवादी केन्द्रीयता’

नेकपाको संगठनात्कम सिद्धान्त, कार्यक्रम र नीति निर्माण तथा सबै तहका कमिटी र सदस्यको सञ्चालन जनवादी केन्द्रीयताको आधारमा हुने भनिएको छ । महाधिवेशन पार्टीको सर्वोच्च संस्थाको रुपमा किटान गरेको नेकपाले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी तथा केन्द्रीकृत नेतृत्व र विकेन्द्रित एवम् शृंखलाबद्ध कमिटी प्रणाली अवलम्बन गर्ने भएको छ ।

नेकपाले आफ्नो विधानको प्रस्तावनामा लेखेको छ,‘पार्टी सबैखाले प्रतिक्रियावाद, अवसरवाद र सङ्कीर्णताका विरुद्ध तथा सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा रहनेछ । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध राख्दै सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, असमानता र विभेदको समाप्तिका लागि संघर्ष गर्नु र निःस्वार्थरूपमा देश, जनता र क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीका सदस्यहरूको कर्तव्य हुनेछ ।’

क–कसलाई अनुशासनको कारबाही ?

नेकपाको विधानको धारा– ५६ (क)मा अनुशासनको कारबाही बारे उल्लेख गरिएको छ । कुनै पनि कमिटी वा निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूले पार्टीको निर्णय उल्लंघन गरेको, गुटवन्दी तथा षडयन्त्र लागयतका कार्य गरेको प्रमाणित भए अनुशासनको कारबाही भोग्नेछन् ।

१. पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र वैधानिक व्यवस्थाको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको

२. पार्टीभित्र गुटबन्दी तथा षड्यन्त्र गरेको

३. पार्टी निर्णय उल्लंघन गरेको

४. पार्टीप्रति निष्ठा र विश्वास नरहेको

५. पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरेको,

६. पार्टी कमिटीको गोपनीयता भंग गरेको

७. पार्टीद्वारा सञ्चालित आन्दोलन र अभियानको विपक्षमा रहेको वा विरोधीसँग साँठगाँठ गरेको

८. कुनै पनि जनप्रतिनिधिमुलक संस्थाको निर्वाचनमा पार्टीको निर्णयविपरीत उम्मेदवार बनेको, पार्टीको उम्मेदवारविरुद्ध प्रचार गरेको वा पार्टीको उम्मेदवारका विरुद्धमा उठ्ने अन्य कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बनेको वा त्यस्तो उम्मेदवारको पक्षमा कुनै काम गरेको

९. केन्द्र तथा प्रदेश सरकार, स्थानीय तह र जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको कुनै पनि जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत कार्य गरेको

१०. नैतिक पतन देखिने फौजदारी कसुर गरेको, भ्रष्ट तथा अनैतिक आचरण गरेको र भ्रष्ट वा अवाञ्छित तत्वसँग साँठगाँठ गरेको तथा राष्ट्रको हितविपरीत काम गरेको

११. पार्टीले माग गरेको अवस्थामा सम्पत्तिको यथार्थ विवरण नदिई लुकाएर राखेको, झुठ्ठा विवरण पेस गरेको वा स्रोत खुलाउन नचाहेको,

१२. पदीय आचरण वा पार्टी हितविपरीत आर्थिक अनुशासनहीनता वा पार्टी सम्पत्तिको हिनामिनामा संलग्न भएको

१३. छुवाछूत, जातीय भेदभाव, बहुविवाह र लैंगिक हिंसाका क्रियाकलाप गरेको

१४. पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालन गर्नुपर्ने भनी उल्लिखित कर्तव्यको उल्लङ्घन गरेको

धारा–७२ अनुसार विधान कार्यान्वयनमा कुनै बाधा–अड्काउ परे केन्द्रीय कमिटीले फुकाउने र त्यसको अनुमोदन राष्ट्रिय महाधिवेशनबाट गराउनुपर्ने छ । धारा– ७३ ले तत्कालिन एमाले र माओवादी केन्द्रका विधानलाई खारेज गरेको छ । नेकपाले पार्टी कार्यकर्ता संरक्षणका लागि एउटा कोषको पनि परिकल्पना गरेको छ । कोषको सञ्चालन कार्यकर्ता संरक्षण कोष विनियम अनुसार गरिने र केन्द्रीय कमिटीको अनुमतिमा कोष प्रदेश र जिल्ला कमिटी तहसम्म स्थापना गर्ने भएको छ ।

नेकपाको विधानको धारा–६० मा बहुमतको निर्णय नै आधिकारिक हुने उल्लेख छ । एकताको राष्ट्रिय महाधिवेशन, अधिवेशन र बैठकहरूमा सबै विषयमाथि छलफल गर्दा जनवादी प्रक्रिया अपनाइने छ । निर्णय प्रक्रियामा मत विभाजन भएमा बहुमतबाट निर्णय गरिनेछ । निर्णयमा असहमत हुने सदस्यले आफ्नो असहमति एकताको राष्ट्रिय महाधिवेशन, अधिवेशन वा बैठकमा लिखितरूपमा प्रस्तुत पाउने व्यवस्था पनि गरेको छ । त्यस्तै, फरक मत प्रस्तुत गर्ने सदस्यले आफ्नो मत छलफलमा लैजान माग गरे र सम्बन्धित कमिटीले आवश्यक ठाने निर्णय कार्यान्वयन गर्ने गरी केन्द्रीय कमिटीको स्वीकृतिमा विधि र प्रक्रिया खुलाई छलफलको अनुमति दिन सक्नेछ ।

नेकपाको केन्द्रीय कमिटीको कार्यकाल एकताको राष्ट्रिय महाधिवेशनबाट अर्को केन्द्रीय कमिटी निर्वाचित नहुँदा सम्म कायम रहने, प्रदेश कमिटीको कार्यकाल बढीमा डेढ बर्ष र सो मातहतका कमिटीहरूको कार्यकाल बढीमा एक वर्षको हुने धारा– ४२ मा छ । नेकपाका केन्द्र, प्रदेश र स्थानीयमा विभिन्न ३२ वटा विभाग हुनेछन् ।

पूर्णकालिन नेताकार्यकर्ता पार्टीले पाल्ने

नेकपाले पार्टी सदस्यता शुल्क मासिक २५ रुपैयाँ र संगठित सदस्यताको शुल्क मासिक ५० रुपैयाँ तोकेको छ । लेबी वापत संकलित रकमको ४० प्रतिशत केन्द्रीय कमिटीमा, २५ प्रतिशत सम्बन्धित प्रदेश कमिटीमा, २५ प्रतिशत सम्बन्धित जिल्ला कमिटीमा र १० प्रतिशत सम्बन्धित गाउँ वा नगर कमिटीमा रहनेछ । प्रत्येक कमिटीले आफूभन्दा ठीक एक तह तल्लो कमिटीलाई र आफ्ना कमिटीका सदस्यहरूलाई लेबी तोक्न सक्ने पनि प्रावधान राखेको छ ।

त्यस्तै, पार्टीबाट प्रधानमन्त्री, मन्त्री तथा सांसद बनेका र केन्द्रीय तहको राजनीतिक नियुक्ति प्राप्त व्यक्तिलाई केन्द्रीय कमिटीले, प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा सांसद बनेका र प्रदेश तहको राजनीतिक नियुक्ति प्राप्त व्यक्तिलाई प्रदेश कमिटीले र स्थानीय तहका विभिन्न पदमा कार्यरत जनप्रतिनिधि र राजनीतिक नियुक्ति प्राप्त व्यक्तिलाई सम्बन्धित तहको स्थानीय कमिटीले लेबी तथा शुल्क तोक्न पाउनेछन् ।

धारा– ६४ अनुसार जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी कमिटीले पारिश्रमिक वा खर्चको व्यवस्था गनुपर्ने छ भने पार्टीका कुनै विशेष काममा पार्टी नेता वा कार्यकर्तालाई खटाउँदा हुने खर्चको व्यवस्था पार्टीले बेहोर्ने छ । विधानको धारा– ६१ अनुसार केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय कोषको निर्माण एवं सञ्चालन गर्नेछ ।

नेकपाको आम्दानीको स्रोत सदस्यता शुल्क तथा लेबी, चन्दा सहयोग, प्रकाशन बिक्री–वितरण, पार्टी सम्पत्तिको परिचालन, स्रोत वृद्धिका लागि सञ्चालन गरिने विशेष कार्यक्रम वा अभियान, पार्टी एकताबाट प्राप्त हुने रकम बताएको छ ।

Promise Education Consultancy