चितवनमा काँग्रेसको विरोध प्रदर्शन

चितवन, १५ साउन । दुई तिहाईको दम्भले ओली नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चितवनमा विरोध प्रदर्शन गरेको छ ।
जिल्लाका विभिन्न क्षेत्रबाट पार्टीको झण्डासहित ¥याली लगाउँदै आएका मानिसहरुलाई भरतपुरको चौबिसकोठीमा उतारेर काँग्रेसले विरोध प्रदर्शन गरेको हो । चौबिसकोठीबाट सुरु भएको ¥याली वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक हुँदै पुलचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्गको चौबिसकोठीदेखि पुलचोकसम्मको सडक अवरुद्ध गरेका थिए ।

चितवनमा काँग्रेसले गरेको प्रदर्शनमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले सम्बोधन गरेका छन् । भण्डारीले सरकारको कार्यशैलीको बिरोध गर्दै सरकार स्वेच्छाचारी भएको आरोप लगाए । सरकारले मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको, भ्रष्टाचारलाई प्रश्रय दिएको, अघिल्लो सरकारले गरेको निर्णयलाई उल्टाएको भन्दै भण्डारीले ओली सरकारको बिरोध गरेका थिए ।
डा गोविन्द केसीसँग भएको सहमति अक्षरसः कार्यान्वयन गर्न माग गर्दै भण्डारीले सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने बताएका छन् । सभामुख वा उपसभामुख मध्ये एक जनाले राजिनामा दिनुपर्ने भण्डारीको भनाइ थियो । भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा महानगरपालिकाले सिटी हल बनाउन लागेको उल्लेख गर्दै काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले क्यान्सरको जग्गामा सिटी हल बनाउने निर्णय रोक्नुपर्ने बताए ।

विरोधका बाबजुध पनि क्यान्सरको जग्गामा सिटी हल बनाउने तयारी गरिएमा त्यसको प्रतिवादमा नेपाली काँग्रेसले जस्तो सुकै आन्दोलन समेत गर्न पछाडि नपर्ने श्रेष्ठको भनाइ थियो । पछिल्लो समय सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै नेपाली काँग्रेसले त्यसको बिरोध स्वरुप देशभरी मंगलबार विरोध प्रदर्शन गरेको छ ।

Promise Education Consultancy