उद्धार गरेर विद्यालय भर्ना गरिएका विद्यार्थीलाई पोशाक

चितवन, १५ साउन । सीमावर्ती सहरबाट उद्धार गरी ल्याएर विद्यालय भर्ना गरिएका बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको छ ।
केही समय अगाडि भारतीय सीमावर्ती सहर महेन्द्रनगरबाट उद्धार गरी भरतपुर ल्याएर विद्यालय भर्ना गरिएका भतरपुर २ का दुई जना बालबालिकालाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको हो । भारत लैजाने क्रममा माइती नेपालले उद्धार गरेर भरतपुर ल्याएपछि माइती नेपालले नारायणगढको बालकुमारी माविमा भर्ना गरिदिएको ११ वर्षीय ईश्वर गुरुङ र १३ वर्षीय सोनिया बोटेलाई शैक्षिक सामग्री तथा पोशाक प्रदान गरिएको हो ।
माइती नेपाल चितवनको आयोजनामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले बिक्रीका लागि लैजादै गर्दा उद्धार गरेर ल्याइएका बालबालिकाको शिक्षा दीक्षामा माइती नेपालले राम्रो काम गरेको बताइन् । धेरै नेपाली बालबालिकाहरु बेचिने गरेको उल्लेख गर्दै शाहले उद्धार गरेर विद्यालय भर्ना गरिएका गुरुङ र बोटेले समाजमा राम्रो काम गरेर उदाहरणीय बन्नुपर्नेमा जोड दिइन् । शिक्षा नै ठूलो धन भएकोले हरेक बालबालिकाहरुलाई पढाउनु सबैको दायित्व भएको शाहले बताइन् ।
माइती नेपालले हिंसा प्रभावितहरुको न्यायको काम गर्दै आएको र पीडित बालबालिकाहरुका लागि काठमाडौँमा विद्यालय सञ्चालन गरेको माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका संयोजक ईश्वर गिरीले बताए । बालबालिकाहरुलाई प्रलोभनमा पारेर फकाउन सजिलो हुने भएकाले सजिलैसँग भारत बिक्री गर्न लैजाने गरेको पाइएको गिरीको भनाइ थियो ।