आर्यन र साम्राज्ञी चितवनमा

चितवन, १५ साउन । चकलेटी हिरोको छवी बनाएका आर्यन सिग्देल र पछिल्लो समयकी हटकेक नायिकाको रुपमा रहेकी साम्राज्ञी राज्यलक्ष्मी शाह चितवन आएका छन् । साउन १८ गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्र कायराको प्रोमोसनका लागि उनीहरु चितवन आएका हुन् ।
चितवन आएका कालकारले नारायणगढमा पत्रकार सम्मेलन गर्दै ‘कायरा’ लभस्टोरी चलचित्र भएको बताए । चलचित्रको संवाद समेत लेखेका कलाकार आर्यनले दर्शकलाई नयाँ ठाउँ दिउँ भनेर फिलिपिन्समा चलचित्रको छायांकन गरिएको उल्लेख गरे । कथाले समेत विदेशको भागलाई मागेको कारण फिलिपिन्समा चलचित्र छायांकन गरिएको भएपनि कथावस्तु सबै नेपाली रहेको सिग्देलको भनाइ छ ।
करिब दुई घण्टा पाँच मिनेटको चलचित्र कायराको ९५ प्रतिशत छायांकन फिलिपिन्समा गरिएको उल्लेख गर्दै सिग्देलले चलचित्रमा प्रेम, रोमान्स र पीडा सबै समेटिएको बताए । कायरा अरु चलचित्र भन्दा फरक रहेको उल्लेख गर्दै मनका पीडाहरुलाई लुकाउन हामी धेरै हाँस्ने, रमाउने गर्ने गरेको यथार्थलाई चलचित्रमा राखिएको सिग्देलको भनाइ छ । पत्रकार सम्मेलनमा कायराकी कलाकार साम्राज्ञीले चलचित्र पूर्ण पारिवारिक भएको बताइन् ।
चकलेटी हिरो आर्यन दर्शकले साम्राज्ञी र उनको स्क्रिन जोडी रुचाइदिनेमा आशावादी बताउँछन् ।

लक्ष्मण रिजालद्वारा निर्देशित चलचित्रमा आर्यन र साम्राज्ञीसँगै शिशिर राणा, हितेश शर्मा, र मरिश्का श्रेष्ठको पनि अभिनय रहेको छ । बनिष शाह, मिलन श्रेष्ठको सम्पादन र केदार भुषालको पटकथा रहेको चलत्रिको लागत दुई करोड रुपैयाँ रहेको सिग्देलले बताए । पहिलो पटक आर्यन र साम्राज्ञीको जोडीले एकसाथ स्क्रिन साझेदारी गरेका कारण ‘कायरा’ दर्शकमाझ प्रतिक्षीत चलचित्र हो । कायरा आर्यनको होम प्रोडोक्सनमा निर्मित चलचित्र हो ।