सहयोगको पर्खाइमा सामुदायिक विद्यालय

नवलपुर÷नवलपुर जिल्लाको ब्रम्हस्थानमा रहेका विपन्न समुदायका बालबालिका पढ्ने सामुदायिक विद्यालयमा भौतिक सामग्री अपुग भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिलाको मध्यविन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको ब्रम्ह प्राथमिक विद्यालयमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिनको लागि भौतिक सामग्री अभाव भएको छ ।
दलित, बोटे, थारुलगायतका विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा कम्प्युटर सामग्री अभाव रहेको छ । विद्यालय पोशाक, कापी किताब जस्ता शैक्षिक सामग्री विभिन्न दाताहरुले सहयोग गर्दै आएको भएपनि विद्यालयमा कम्प्युटर अभाव भएको जनाइएको छ । कक्षा ४ मा कम्प्युटरका विषयमा अध्ययन गर्नुपर्ने भएपनि ब्रम्ह प्राथमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई कम्प्युटर देखाउन समेत नपाइएको शिक्षकहरु गुनासो गर्छन् ।
‘विद्यालयको आम्दानीको स्रोत छैन, विभिन्न व्यक्तिहरुको सहयोगमा जेनतेन विद्यार्थीहरु पढाउँदै आएका छौँ’ विद्यालयकी शिक्षिका तारादेवी रानाभाटले भनिन्, –‘अहिले विद्यालयको टड्कारो आवश्यकता भनेको कम्प्युटर हो ।’ कक्षा ४ मा विद्यार्थीहरुलाई कम्प्युटर सम्बन्धी पढाउनुपर्ने भएपनि विद्यालयमा कम्प्युटर नहुँदा कम्प्युटरका किबोर्ड, माउस, मनिटर जस्ता सामान्य कुराहरु समेत विद्यार्थीलाई बुझाउन नसकिएको रानाभाटले बताइन् । बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययन गराउँदै आएको विद्यालयमा अधिकांश विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएका रानाभाटको भनाइ छ ।
सात जना कर्मचारी रहेका विद्यालयमा तीन जना शिक्षकहरुलाई मात्रै सरकारले तलब खुवाउँदै आएको छ । चार जना कर्मचारी निजी स्रोतबाट पाल्दै आएको विद्यालयको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय आफैले कम्प्युटर खरिद गर्न सक्ने अवस्था नरहेको विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले बताए । विद्यालयको भवन, खानेपानी तथा अन्य भौतिक संरचनाहरु विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा निर्माण भएको भएपनि हालसम्म विद्यालयलाई कम्प्युटर प्रदान गर्ने दाता नभेटिएको केसीले बताए ।
नारायणी नदीको नजिकै रहेको विद्यालयमा बाढीपीडित तथा न्यून आयस्तर भएका समुदायका विद्यार्थी मात्रै पढ्न आउने गरेका छन् । विद्यार्थीहरुलाई सैद्धान्तिकका साथै व्यवहारिक ज्ञान समेत प्रदान गर्न सकेमा उनीहरुको पढ्ने क्षमतामा समेत वृद्धि हुने विद्यालयका शिक्षक अमृशप्रसाद चौधरीले बताए । विद्यालयमा हाल जम्मा ४५ जना विद्यार्थी मात्रै अध्ययन गर्ने गरेका छन् ।
आजभन्दा १० वर्ष अगाडिसम्म साढे दुई सय भन्दा बढी विद्यार्थी अध्ययन गर्ने ब्रम्ह प्राथमिक विद्यालयमा समयअनुसारको शैक्षिक सामग्री नहुँदा विद्यार्थी घटेको चौधरीले बताए । विद्यालयको गुणस्तर वृद्धि गर्नका लागि अभिभावकसमेत सचेत हुन नसक्दा विद्यालयको अवस्था दिनप्रतिदिन बिग्रदो अवस्थामा रहेको छ । गाउँकै नजिक निजी विद्यालयहरु सञ्चालन भइरहेको अवस्थामा ती विद्यालयसँग प्रतिस्पर्धा गर्ने गरि सामुदायिक विद्यालयमा शिक्षा प्रदान गर्न सकिएन भने विद्यालयको अस्तित्व नै शंकटमा पर्ने सम्भावना रहेको छ ।
नदीको कटानका कारण बस्ती समेत पातलिदै गएको अवस्थामा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सरोकारवाला पक्षहरुले विद्यालयलाई सहयोग गर्नुपर्ने विद्यालय परिवारको भनाइ छ । विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भएको कारणले हालसम्म केही विद्यार्थीहरु अध्ययन गर्न आउने गरेकोमा शैक्षिक गुणस्तर वृद्धि गर्न नसक्ने हो भने विद्यार्थीको घट्दो दर कम गर्न नसकिने शिक्षकहरुको गुनासो छ ।