सरकार विरुद्ध आज काँग्रेसको विशाल विरोध प्रर्दशन

 

चितवन, १५ साउन । मुख्य विपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहरसहित सबै जिल्लामा प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

काठमाडौंमा दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन हुनेछ । शान्ति बाटीकाबाट भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिवाटीकामै फर्किएर कोणसभा गरिने काठमाडौ जिल्ला कार्यसमितिले जनाएको छ ।

कांग्रेसले नाम राख्न बाँकी पाँचवटा प्रदेशको नाम राख्नुपर्ने र प्रदेश राजधानी तत्काल तोक्न पनि माग गरेको छ । आफू नेतृत्वमा बनेको सरकारकाले गरेको ६५ वर्ष पुगेका नागरिकलाई बृद्ध भत्ता दिने तथा भूकम्प प्रभावित परिवारलाई प्रति परिवार १ लाख रुपैया राहत रकम थप गर्ने निर्णय तत्काल लागू हुनुपर्ने, मिर्गौला, क्यान्सर तथा मुटुको गम्भीर रोग लागेका बिरामीलाई महिनाको ५ हजारका दरले राहत दिने निर्णयलाई पनि निरन्तरता दिनुपर्ने कांग्रेसको माग छ ।

नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीका अनुसार चौबिसकोठीबाट पुलचोक सम्म हुने प्रदर्शनमा २५ हजार जनता सडकमा उतार्ने तयारी गरिएको छ । काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीद्धारा सम्बोधन हुने सो सभालाई काँग्रेस चितवनले शक्ति प्रदर्शनको रुपमा लिएको छ ।

काँग्रेसले सभामुख र उपसभामुख दुबै एउटै पार्टीको हुन नहुने, अघिल्लो सरकारले गरेको जनपक्षिय निर्णय कार्यान्वयन हुनु पर्ने लगाएतका मागहरु राख्दै आज देशै भर प्रदर्शन गर्ने लागेको हो । सोही अवसरमा प्रजातन्त्रताका सेनानीलाई सम्मान पनि गरिने छ ।