देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड

चितवन, १४ साउन । तीन जिल्लाको पवित्र तीर्थस्थले देवघाटमा साउन महिनाको दोश्रो सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
कालीगण्डकी र त्रिशूली नदीको संगम वेणीमा स्नान गर्नाले पूण्य प्राप्त हुनुका साथै चर्म रोगसमेत निदान हुने जनविश्वासका कारण देवघाटधाममा स्नान गर्नेको भीड लाग्ने गरेको हो । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्दछ । साउने महोत्सव भर्न देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् । पँहेलो बस्त्र लगाएर खाली खुट्टामै भक्तजन बोल ओम मेला भर्न आएका हुन् ।
साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउनाले पूण्य आर्जन हुने जनविश्वास रहेको छ । धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास रहेको देवघाट क्षेत्र विकास समतिका अध्यक्ष टंकनाथ पौडेलले बताए ।

आइतबार साँझदेखि नै देवघाट आएर रातभर जाग्राम बसेर भजनकीर्तन गरेका झक्तजन सोमबार बिहानै स्नान गरी भगवान शिवलाई गङ्गाजल र बेलपत्र चढाएर फर्कने गर्दछन् ।
देशका विभिन्न स्थानबाट भक्तजनहरु साउन स्नानको लागि देवघाटधाम आउने भएकाले त्यहाँको शान्ति सुरक्षालाई मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । धार्मिक क्षेत्रमा हुनसक्ने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको साथमा सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको राठौरले बताए । त्रिशूली नदीमा पानीको बहाब उच्च हुने भएका कारण देवघाट स्नान गर्न पुग्ने भक्तजनहरुलाई कुनै भवितव्य आइपरेमा गोताखोर प्रहरी समेत उद्धारको लागि परिचालन गरिएको छ ।
साउनको पहिलो सोमबार हरिशयनी एकादशी एकै दिनमा परेका कारण देवघाटमा भक्तजनहरुको उल्लेख्य उपस्थिति भएको हो । देवघाटको वेणी संगममा स्नानको लागि जाने झोलुङ्गे पुल जिर्ण भएका कारण त्यस ठाउँमा लाइन लगाएर तीर्थालुहरुलाई पुल तर्ने व्यवस्था नगरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।