पर्यटकीय गतिविधि बढाउँदै सामुदायिक वन

आनन्द पोखरेल

चितवन, १४ साउन । पर्यटकीय गविविधि सञ्चालन गर्दै आयआर्जन गर्न समुदायिक वनहरुले विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेका छन् ।
समुदायद्वारा संरक्षण तथा प्रयोग भइरहेको चितवनका अधिकांश वनले स्थानीय उपभोक्ताहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पु¥याउनुका साथै पर्यटकीय केन्द्र समेत बन्दै गइरहेका छन् । चितवनको पश्चिमी क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १६ मा रहेको सेतीदेवी सामुदायिक वनले स्थानीयको जीवनस्तर नै परिवर्तन गराएको छ । वनले स्थानीय स्तरमा विकास निर्माणको कामसँगै समुदायलाई घाँस, दाउरा उपलब्ध गराउनुका साथै पर्यापर्यटनमा समेत महत्वपूर्ण भूमिका खेलेको वनको उपभोक्ता सारदा अर्यालले बताइन् ।

वनबाट आफूहरुले धेरै फाइदा पाएको उल्लेख गर्दै अर्यालले वनमा पाइने दुर्लभ एकसिंगे गैंडा हेर्नका लागि अन्यत्रबाट पर्यटकहरु आउँदा स्थानीयले रोजगार समेत पाएका बताइन् । पर्यटकहरु आउँदा उनीहरुलाई घुमाउने गाइडले आम्दानी गर्ने तथा वनले समेत आम्दानी गर्ने गरेको अर्यालको भनाइ छ । सामुदायिक वन हुनु अगाडि आफूहरुले महङ्गो शुल्कमा काठ दाउरा किन्नु पर्ने अवस्था रहेकोमा अहिले कुनै पनि शुभ कार्य वा अन्य कामको लागि वनले काठ उपलब्ध गराउने गरेको अर्यालले बताइन् ।

समुदायको विकासमा क्रियाशील वनले स्थानीय रुपमा पर्यटन प्रवद्र्धनको लागि करिब साढे तीन बिघाहा क्षेत्रफलमा ६६ लाख रुपैयाँको लागतमा पोखरी निर्माण गर्दैछ । पर्यटक भित्र्याउने उद्देश्यले निर्माण गरिएको पोखरीको बीचमा अत्याधुनिक रिसोर्ट सञ्चालनमा आउने हुँदा स्थानीयलाई समेत फाइदा पुग्ने सेतीदेवी सामुदायिक वनका कोषाध्यक्ष शुकमान घलेले बताए । रिसोर्ट सञ्चालनमा आएसँग रिसोर्टमा स्थानीय व्यक्तिले नै रोजगार पाउने भएकाले यहाँका बासिन्दाको आयआर्जनमा समेत वृद्धि हुने घलेको भनाइ छ ।
पोखरीको बीचमा रहेको १५ कठ्ठा खाली जमिनमा रिसोर्टका साथै विभिन्न कजेट, मन्दिर तथा विश्रामस्थल निर्माण हुने सेतीदेवी सामुदायिक वनका अध्यक्ष नन्दप्रसाद भट्टले बताए । एक वर्ष भित्र सञ्चालनमा ल्याउने तयारी स्वरुप सुरु गरिएको निर्माण सम्पन्न पश्चात तालमा बोटिङ गर्ने तथा आफैले माछा मारेर खान पाउने सुविधा समेत उपलब्ध हुने भट्टको भनाइ छ । रिसोर्ट सञ्चालनको लागि पोखरीको बीचमा रहेको खाली जग्गामा ६ वटा टहराहरु निर्माण भइरहेका छन् ।
पोखरीको निर्माण गर्नका लागि स्थानीय व्यक्तिहरुसँग आर्थिक तथा निर्माण सामग्रीहरु सहयोगस्वरुप मागेको भट्टको भनाइ छ । रिसोर्ट सामुदायिक वनको व्यवस्थापनले नै सञ्चालन गर्ने तथा रिसोर्टको नजिकै गाउँमा पनि होमस्टे सञ्चालनको तयारी भइरहेको भट्टले जानकारी दिए । रिसोर्टमा स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै पूर्ण रुपमा हाइजेनिक खाना खुवाउने गरि सञ्चालनमा ल्याइने भट्टको भनाइ छ ।
सौराहामा मात्रै केन्द्रित चितवनको पर्यटकीय गतिविधिलाई जिल्लाभरी फैलाउनको लागि विभिन्न प्रयासहरु भइरहेका छन् । पछिल्लो समय पश्चिम चितवनका क्षेत्रहरु पर्यटकको लागि रोजाइमा पर्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

Promise Education Consultancy