व्रत साउने सोमबारको शास्त्रीय कि ‘फेशन?’

 रामप्रसाद धिताल

नेपाली हिन्दु धर्मावलम्बीहरूले साउनको सोमबारको व्रत अघिल्लो साता सुरु गरे। त्यही व्रत भारतीय हिन्दु धर्मावलम्बीहरू यो सोमबार सुरु गर्दैछन्। नेपालीहरूले साउन ७, १४, २१ र २८ गते साउने सोमबार मनाउँदा भारतीयहरूले १४, २१, २८ र भदौ ४ गते मनाउँदैछन्।

एउटै धर्म। एउटै स‌ंस्कृति। एउटै पर्व। यस्तो किन भयो? ‘सामान्यतय व्रत गर्दा सौरमानसापेक्ष चान्द्रमहिना तिथिमा गर्नु भन्ने शास्त्रीय मान्यता छ’, पुराणविद् प्रियंवदा काफ्ले भन्छिन्, ‘अघिल्लो साता चान्द्रमानका हिसाबले साउन महिना लागेकै थिएन।

शनिबार श्रावण सुरु भएकाले यो सोमबारदेखि मनाउनुपर्ने हो। नेपालीहरूले सौरमानअनुसारको सोमबारबाट सुरु गरेका हुन्।’ चाडपर्वको उल्लेख पाइने भविष्योत्तर पुराणमा साउने सोमबारको व्रतको विधान नभएको काफ्ले बताउँछिन्।

सामान्यतया चाडपर्वहरू तिथिमा आधारित हुन्छन्। ‘जस्तै चतुर्दशीमा शिवको पूजा गर्ने, पञ्चमीमा देवीको पूजा गर्ने इत्यादि। तर यो व्रत कसरी वारसँग सम्बन्धित हुनपुग्यो’,उनी प्रश्न गर्छिन्।

अधिकांश चाडपर्वको उल्लेख पाइने भविष्योत्तर पुराणमा साउने सोमबारको व्रतको उल्लेख नभएको पुराणविद् प्रियंवदा काफ्ले बताउँछिन्। सामान्यतया चाडपर्वहरू तिथिमा आधारित हुन्छन्।

तर यो व्रत कसरी वारसँग सम्बन्धित हुनपुग्यो’,उनी प्रश्न गर्छिन्। ‘ज्योतिषशास्त्रअनुसार चन्द्रमा एक ग्रह। चन्द्रमा अर्थात् सोम। सोमबार चन्द्रमाको बार। चन्द्रमा शिवजीको शिरमा बसेका’, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा.रामचन्द्र गौतम भन्छन्, ‘यसैले साउनको मात्र होइन हरेक सोमबार शिवजीको पूजा महत्त्वपूर्ण हुन्छ।’

उनका अनुसार पुराणमा साउने सोमबारमा गरिने शिवपूजाको उल्लेख पाइन्छ। श्रद्धापूर्वक जल मात्र चढाउनाले पनि कल्याण हुन्छ। शिवपूजा महिलाले मात्र होइन पुरुषसमेत भएर गर्ने निर्देश रहेको बताइन्छ। ‘साउनमा मात्र होइन, वैशाख, कार्तिक, मंसिर र चैतका सोमबारमा शिवको पूजा गर्ने विधान छ’,धर्मशास्त्री डा. देवमणि भट्टराई भन्छन्, ‘१४ वर्षसम्म साउनको सोमबार व्रत लिने विधान छ।’

उनका अनुसार व्रतराज (पुराणहरूको संग्रह) मा सोमबार गरिने विभिन्न प्रहरको पूजाको तरिका बताइएको छ। साउनको सोमबारलाई धर्मशास्त्र भन्दा पनि लौकिक मान्यताका आधारमा चलेको व्रत मान्छिन्, पुराणविद् काफ्ले। मिडिया र सिरियलको प्रभावमा नेपाल आइपुगेको हो। साउने सोमबारसँग जोडिएको इतिहास उनले पंक्तिकारलाई सुनाइन्, भारतमा लालबहादुर शास्त्री प्रधानमन्त्री हुँदाताकाको।

तिनताका भारत अहिलेजस्तो खाद्यान्नमा आत्मनिर्भर थिएन। १९६५ पछि हरित क्रान्ति सुरु भयो। रासायनिक मल प्रयोग नगर्ने। उत्पादन वृद्धि भयो त्यो भन्दा अघि विभिन्न देशले खाद्यान्न सहयोग गर्थे।

अमेरिकाले रातो रंगको गहुँ सहयोग गर्यो तर जनावरहरूले खाने। भारतीयहरूलाई नराम्रो लाग्यो। शास्त्रीले प्रस्ताव ल्याए, ‘हप्ताको एक दिन व्रत बस्यो भने खाद्यान्न संकट पनि हट्ने।

शिवजीको बार भएकाले सोमबार व्रत बस्ने धर्म पनि हुने। मलाई वचन दिन्छौ त?’ शास्त्रीजस्ता निष्ठाको राजनीति गर्ने सात्त्विक व्यक्तिले भनेपछि नमान्ने कुरै थिएन। भारतीयहरूले साथ दिए।

पछि हरित क्रान्ति सफल हुँदै गर्दा खाद्यान्न संकट टरे पनि ‘शास्त्रीजीको वचन दिया है’ भन्दै भारतीयहरूले व्रत जारी राखे।  पहिलेपहिले भारतको सीमानजिक रहेका तराईमा मात्र साउने सोमबारको व्रत बस्थे। पछि तराईका मानिस काठमाडौं आएसँगै संस्कृति सर्‍यो। काठमाडौंमा हरेक ठाउँका मानिस बस्ने भएकाले पहाडी भागमा पनि फैलियो। पहाडी समाजमा चाहिँ साउन महिनामा रुद्री लगाउने चलन थियो, शिवजीको महिना भनेर।

तर अहिले मानिसमा धार्मिक चेतना वृद्धि भएको तर्क गर्छन् धर्मशास्त्री भट्टराई। ‘सञ्चारमाध्यमका कारण पनि मानिसमा पहिलेभन्दा धार्मिक चेतना बढेको छ’, उनी भन्छन्, ‘त्यसैले साउनको सोमबारको महत्त्व बढेको हो।’

सामान्यतया राता कपडा र श्रृंगारका सामग्रीलाई सौभाग्यसूचक मानिन्छ। रातोसँगै पहेँला र हरिया लुगा लगाउने चलन चलेको छ केही वर्षयता। यसलाई समृद्धिको सूचक मान्छिन्, धर्मशास्त्राचार्य काफ्ले। ‘पहिले पहिले नयाँ लुगा लगाउन दसैँ नै कुनुपर्थ्यो’, उनी भन्छिन्, अहिले त्यो अवस्था छैन। मानिसको आर्थिक स्थिति सुदृढ भएको छ। कमाएको पैसा लुगा, गहनामा खर्च गर्ने र अरुलाई देखाउने चलन बढ्दो छ।’

देखाउन नि बहाना चाहियो, साउने सोमबार र तीजजस्ता पर्वमा अनेक फुर्का गाँसेर प्रदर्शन गर्ने चलन बढेको छ। यसमा व्यापारको पनि सम्बन्ध रहेको उनको बुझाइ छ।  ‘ज्योतिषशास्त्रअनुसार चन्द्रमा एक ग्रह। चन्द्रमा अर्थात् सोम।

सोमबार चन्द्रमाको बार। चन्द्रमा शिवजीको शिरमा बसेका’, नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा.रामचन्द्र गौतम भन्छन्, ‘यसैले साउनको मात्र होइन हरेक सोमबार शिवजीको पूजा महत्त्वपूर्ण हुन्छ।’

‘मानिसको शरीर पञ्चमहाभूतबाट बनेको छ त्यसमा पनि पृथ्वी तत्त्व बढी छ’, गौतम भन्छन्’, वर्षाका कारण साउनमा पृथ्वी नै हरियाली हुने भएकाले मानिसले त्यसलाई ग्रहण गरेको अर्थमा पनि बुझ्नुपर्छ।’

साउनमा शिवजीलाई बेलपत्र चढाउने विधान पुराणमा भएअनुरूप मानिसले त्यसको रंगलाई अंगीकार गरेको बुझाइ छ, भट्टराईको। करिब डेढ दशकअघिसम्म नेपाली हिन्दु समाजमा साउने सोमबारको व्रत प्रचलनमा भएजस्तो पंक्तिकारलाई लाग्दैन।

विस्तारै विस्तारै राता लुगा लगाएर तीजमा जस्तै व्रत बस्ने चलन आयो। केही वर्षमा चुरा र पोतेका रंगहरू फेरिए रातासँगै पहेँला र हरिया पनि मिसिन थाले। केही वर्षयता हातमा मेहन्दी नहुँदा साउन नै फिका हुनेजस्तो भएको छ। ‘

सोमबारजस्ता पर्वमा देखासिखी गर्नैपर्‍यो आर्थिक भार बढायो’, भन्नेजस्ता गुनासो पनि सुनेकी छिन्, काफ्लेले। सोमबारको व्रत बस्ने नाममा हरिया पहेँला लुगा अाभूषण नलगाउँदैमा संस्कृति नमानेको भन्ने नठहरिने उनको भनाइ छ।

‘ऐच्छिक हो गरे पनि भयो नगरे पनि’ उनी भन्छिन्, ‘देखासिखी गर्न नसकेको भन्दैमा धर्म नमानेको भन्ने ठहरिँदैन। मूल कुराचाहिँ मान्छेमा धार्मिक भावना कति छ भन्ने महत्त्वपूर्ण हो।’