ट्राफिक प्रहरीको अाँखा भरतपुरमा ‘म्याजिक भ्यान’मा

 

 

चितवन, साउन १२ । भरतपुर महानगरपालिकाले यहाँको मुख्य राजमार्गमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएसँगै सो क्षेत्रमा चल्ने म्याजिक भ्यानको लापरबाही बढेपछि प्रहरीले कारवाही थालेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमका अनुसार म्याजिक भ्यान तीव्र गतिमा चलाउने, क्षमता भन्दा बढी सिट राख्ने लगायतका क्रियाकलाप बढेकाले कारवाही सुरु गरिएको हो।

यसरी गाडीभित्र राखिएको ६५ वटा मुढा बरामद गरी म्याजिक भ्यानलाई जरिवाना गरिएको गौतमको भनाइ छ। नियमित चेकजाँचको साथसाथै म्याजिकहरुलाई नै केन्द्रित गरेर शुक्रबारदेखि भने टोली खटाएको प्रहरीले जनाएको छ।

अहिलेसम्म सिट क्षमता भन्दा बढी यात्रु बोक्ने २१ वटा म्याजिक भ्यानबाट ६५ वटा मुडा बरामद भएको भन्दै गौतमले उनीहरुलाई नियम उल्लंघनको अवस्था हेरेरएक हजार देखि एक हजार ५०० सम्म जरिवाना  गरिएको बताउनुभयो।

साउन पाँचगतेको निर्णय अनुसार भरतपुर महानगरले पूर्वपश्चिम राजमार्गको भरतपुर खण्ड, बाइपास रोड र नारायणगढ–­मुग्लिन सडकखण्डमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ। यसकारण अहिले मुख्य राजमार्गमा सवारी सञ्चालनमा सहज देखिएको सवारी चालकहरूले बताएका छन्।

नियम विपरित बढी तीनपाङ्ग्रे सवारी भित्रिएको र तीव्र गतिका कारण दुर्घटना  बढेकाले नियन्त्रण गर्नुपरेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।ट्राफिक प्रहरीले गाडीको पछाडि धाकधम्कीपूर्ण, अश्लील खालका सायरी कविता समेत हटाउन सबै सवारीचालकहरुलाई निर्देशन दिएको छ।

Promise Education Consultancy