डिएलको अधिवेशनको तयारी पुरा

चितवन, ११ साउन । नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसन (डिएलए नेपाल) को १० औँ अधिवेशनको तयारी पुरा भएको छ । नवलपुरको गैंडाकोटमा हुने अधिवेशनको उद्घाटन साउन १२ गते शनिबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।
उद्घाटन सत्रमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर सशांक कोइराला, पूर्णबहादुर खड्कालगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने अधिवेशनले डिएलको विधान परिवर्तन गर्दै एक जना अध्यक्ष सहित ४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने व्यवस्थापन तथा तयारी समिति संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ट घिमिरेले जानकारी दिए । नेपाली काँग्रेको शुभेच्छुक संस्थाको रुपमा रहेको डिएलएको अधिवेशनका लागि देशभरीबाट एक हजार एक सय ३१ जना मतदान प्रतिनिधि तथा पाँच सय जना पर्यवेक्षक सहभागी हुने घिमिरेको भनाइ छ ।
१२ गते अधिवेशन उद्घाटन सत्र सकिएपछि बन्दसत्रमा विधान संशोधन पछि निर्वाचन कार्यातालिका सार्वजनि गरिने डिएलएका अध्यक्ष अधिवक्ता भरतप्रसाद खरेलले बताए । तीन वर्षे कार्यकालको नेतृत्व लिनको लागि सात जना महत्वकांक्षी देखिएका खरेलको भनाइ छ ।