मुख्य राजमार्गका तीन पाङ्ग्रे नगुडेपछिको भरतपुर…..

चितवन १० साउन । चितवनको भरतपुर महानगरपालिका भित्रका मुख्य शहरी क्षेत्रका राजमार्गहरुमा आजदेखि तीन पाङ्ग्रे सवारीका साधन नगुडेपछि शहरको भीडभाड निकै कम भएको छ ।

आन्दोलनरत तीन पाङ्गे्र सवारीका मजदुर संगठन र भरतपुर महानगरपालिकाविच गएराति वार्ता भएर महानगरकै निर्णय मान्ने निर्णय भएसंगै तीन पाङ्ग्रे सवारीहरु मुख्य राजमार्गमा नगुड्ने भएका हुन् ।

तीन हजारको हाराहारीमा रहेका तीन पाङ्ग्रे सवारीहरु मुख्य राजमार्गमा नगुड्दा शहर पनि फराकिलो र व्यवस्थित देखिएको छ । महानगरको मुख्य शहरी क्षेत्रमा १८ वटा स्थानवाट ती सवारीका साधन वारपार गर्ने भने व्यवस्था मिलाइएको छ ।

भरतपुरको गोन्द्राङदेखि पुल्चोक हुदै पोखरावसर्पाकसम्मको क्षेत्र र वाइपासरोडमा तीन पाङ्ग्रे गुडेका छैनन् । उनीहरु भरतपुरका विभिन्न भित्री मार्गहरु हुदै मुख्य राजमार्गसम्म यात्रुहरु ओसारपसार गरिरहेका देखिन्छन् ।

इ रिक्सा चालकहरुले पनि आफुहरुका कारण केही मात्रामा शहर अव्यवस्थित भएको स्विकार गर्दे भित्री मार्गमा चलाउदा पनि राम्रै भईरहेको प्रतिक्रिया दिन्छन् । भरतपुर महानगरको यो कदमलाई स्थानीयले स्वागतयोग्य काम भनेका छन् ।

यसअघि हिजो दिनभर भएको आन्दोलन र प्रहरीसंगको झडपमा एकजना इ रिक्सा व्यवसायीलाई गोली लागेको थियो ।

भरतपुर महानगरले नगरको व्यवस्थापनका लागि एकमहिना अगाडि नै ठेलाहरु मुख्य राजमार्ग दायावाय राख्न नपाउने व्यवस्था गरेको थियो । अव अन्य सवारीका साधनको पनि उचित व्यवस्थापन गर्दे जाने महानगरले जनाएको छ ।

Promise Education Consultancy