राजीनामा दिन कानुनमन्त्री तामाङलाई प्रधानमन्त्रीको निर्देशन, २ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले निर्देशन दिएको छ। सोमबार साँझ प्रधानमनन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका शिर्ष नेताहरूको छलफलपछि तामाङलाई राजीनामा दिन भनिएको हो।

पार्टीको निर्णय अनुसार प्रधानमन्त्री ओलीले पनि मन्त्री तामाङलाई पदबाट राजीनामा दिन निर्देशन दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ। मन्त्री तामाङले एक कार्यक्रममा नेपाली छात्राहरू एमबीबीएस एवं स्वास्थ्य शिक्षा हालिल गर्न बंगलादेश जाने र त्यहाँ उनीहरूले सर्टिफिकेट प्राप्त गर्न शरीर बेच्नपरेको बताएका थिए। काठमाडौंको एक निजी स्कुलको कार्यक्रममा तामाङले उक्त अभिव्यक्ति दिएका थिए।

तामाङको अभिव्यक्तिको व्यापक आलोचना भएको थियो। विभिन्न पार्टी र संघ संस्थाहरूले उनलाई मन्त्रीपदबाट बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष माग गरेका थिए। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेतारहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टी जनाएका थिए। तामाङको अभिव्यक्तिको सामाजिक सञ्जालमा र राजनीतिक वृत्तमा व्यापक विरोध भएको थियो। आफ्नो अभिव्यक्तिकोो विरोध भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी पनि मागेका थिए। तर, आफूले नेपाली विद्यार्थीहरुले भोग्नुपरेको समस्या उजागर गरेको भन्दै आफ्नो अभिव्यक्तिको बचाउ पनि गरे। त्यसपछि पनि मन्त्री तामाङ, सरकार र नेकपाको विरोध व्यापक बन्न थालेपछि पार्टी र प्रधानमन्त्रीले तामाङलाई पदबाट राजीनामा दिन निर्देश भएको हो। मन्त्री तामाङले मंगबलार दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने स्रोतले बताएको छ।