पर्यटकीय नगरी सौराहालाई चौविसै घण्टा सुरक्षा

साउन ५ । प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञावलीले मुलुकको तेश्रो पर्यटकीय नगरी सौराहालाई चौविसै घण्टा सुरक्षा दिन तयार रहेको बताएका छन । इलाका प्रहरी कार्यालय टाँडीमा भखैरै जिम्मेवारी सम्हालेका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञावलीले आफ्नै स्वागतको लागि रेष्टुरेण्ट एण्ड बार एसोसियसन(रेवान) सौराहाले आयोजना गरेको सो कार्यक्रममा सौराहाको विकासको लागि प्रहरीको तर्फबाट गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताए ।

सौराहामा हुने विकृति,विसंगतिको अन्त्यसंगै चौविसै घण्टा सुरक्षा दिन प्रहरी सक्षम रहेको उनले बताए । सौराहा रातभरी जागाराम हुन्छ भने पनि हामी सुरक्षा दिन तयार छौं उनले भने यसमा जनप्रतिनिधि र व्यवसायीको सहयोग आवश्यक छ । उनले सौराहामा ट्राफिक व्यवस्थापनको विषयमा प्रहरी गम्भीर रहेको बताए । कार्यक्रममा रेवानको निर्वतमान अध्यक्ष तथा वडा नं ७ का वडा अध्यक्ष राजन भट्टले प्रहरीको सेवा डर लाग्दो नभइ रहरलाग्नु हुनुपर्ने बताए । कार्यक्रममा रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले सौराहामा लागु गरिएको पर्यटन आचारसंहिता कार्यान्वयको लागि भूमिका खेलिदिन प्रहरीलाई आग्रह गरे । सौराहाको मुख्य बजारमा अनियन्त्रित रुपमा गुडने सवारी साधनका कारण पर्यटकहरु डराउनु पर्ने अबस्था रहेको भन्दै उनले यसको नियन्त्रण गरिदिन आग्रह गरे ।

कार्यक्रममा रेवान महिला समुहकी अध्यक्ष माला दाहाल,बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विपी चौधरी,क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष दीपक भट्टराई लगायतले मन्तव्य राखेका थिए । रेवान सौराहाका अध्यक्ष गिरीको अध्यक्षतामा भएका कार्यक्रममा उपाध्यक्ष दिपेन्द्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए ।