यी महिला जसले बाँदरलाई दिइन् आफ्नो सारा सम्पत्ति !

काठमाडौँ,७ जेठ । मान्छेका रुची र चाहनाहरु फरक फरक हुन्छन् । कुनै व्यक्तिको क्रियाकलाप तथा रुचीहरु पनि अनौठा हुने गर्छन् । छिमेकी मुलुक भारतको उत्तरप्रदेशस्थित रायबरेली जिल्लामा बस्ने एक महिलाले आफ्नो नाममा रहेको सबै धनसम्पत्ति एक बाँदरको नाममा गरिदिएकी छिन् ।

रायबरेलीको शक्तिनगरमा बस्ने कवयित्री सबिस्ताले १३ वर्षअघि देखि एउटा बाँदर घरमा पाल्दै आएकी थिइन् । बाँदरको नाम चुनमुन होे । आफ्नो जीवनमा चुनमुन आएसँगै बदलिएको उनको भनाइ छ । बाँदरबाट उनी यतिधेरै खुसी भइन् कि आफ्नो सारा सम्पत्ति बाँदरलाई सुम्पिइन् । यो गत वर्षको कुरा हो । तर दुर्भाग्य गएको वर्ष चुनमुनको मृत्यु भयो ।

आफ्नो प्रिय बाँदर मरेसँगै सबिस्ता ठूलो पीडामा परिन् । मुस्लिम धर्म मान्ने सबिस्ताले त्यसपछि घरमा बाँदरको मन्दिर बनाएकी छन् । गत मंगलबार उक्त मन्दिरमा राम लक्ष्मण तथा बाँदरको मूर्तिको प्राणप्रतिष्ठा गरिएको छ । मुस्लिम भएर पनि आफ्नो बाँदरप्रेमका कारण घरमा मन्दिर बनाउने यी महिलाको लगाव साँच्चिकै उदाहरणीय छ । स्मरणरहोस्, प्रेम विवाह असफल भएपछि एक्लै रहेकी ती महिलाका कुनै सन्तान थिएनन् र उनले उक्त बाँदरलाई नै आफ्नो छोरा मानेर आफ्नो जायजेथा सबै उसकै नाममा गराइदिएकी थिइन् ।