नेपालमा जापानी लगानी सम्बन्धीमा लगानी सेमिनार सम्पन्न

बिश्वास आचार्य
टोकियो जापान , ६ जेठ । गैरआवासिय नेपाली संघ एसिया प्यासीफिकको आयोजनामा नेपालमा जापानी लगानी र पर्यटक भित्र्याउने सम्बन्धीमा लगानी सेमिनार सम्पन्न भएको छ । जापानको नागोया शहरस्थित ओबु सिटिमा शुक्रबार जापानका लागि नेपाली महामहिम राजदुत प्रतिभा राणाको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा जापानमा ब्यवसाय गरेर बसेका नेपाली ब्यावसायी तथा जापानी ब्यवसायीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाली र जापानी राष्ट्रिय गानबाट शुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका राजदुत राणाले अब नेपालमा सरकार बलियो भएको ,राजनीति स्थायित्व भएको र लगानीको वातावरण भएको कुरा अवगत गराउदै बुद्ध जन्मिएको देश नेपाल र जापानको सम्बन्ध पुरानो रहेको र नेपाली जनता र जापानी जनता मिलेर यसलाई अझै मजबुत बनाउनु पर्ने जिकिर समेत गर्नु भयो भने एनआरएनए आईसीसी अध्यक्ष भबन भट्टको सान्दर्भिक भिडिओ संदेश पावरपोइन्टमा देखाइएको थियो । आइची प्रिफेक्चर ओबु शहरका मेयर ओकामुरा हिदेतोले अस्ट्रेलिया र फिलिपिनमा हाम्रो भगिनी शहर रहेको र अब नेपालको शहरको बारेमा पनि हामी सकारात्मक रहेको जानकारी दिनु भयो । त्यसै गरी कार्क्रममा ओबु जापान चेम्बर अफ कमर्श एण्ड इण्डस्ट्रिका अध्यक्ष किमुरा ,रोटरी जापानका पूर्व गभर्नर युसुके कोन्दो , एनआरएनएका युवा संयोजक सुदन थापा , एसिया प्यासिफिकका संयोजक किरण बिक्रम थापा ,आइसीसी सदस्यद्वय ओम गुरुङ र टंक गैरेले मन्तब्य राख्नु भएको थियो ।
प्रस्तुति दिने क्रमममा नेपालको बारेमा संक्षिप्तमा डा सुदिप अधिकारी, नेपालमा जापानको रोटरीले गरेको सहयोगको बारेमा डा कोशो योशिकावा ,नेपालको पर्यटन बारेमा नागोया शहरका पूर्व उपमेयर सुजुकी कत्सुहिसाले जानकारी गराउनु भएको भयो भने नेपालमा लगानी र सम्भावनाका बारेमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक तथा कार्यक्रमका परिकल्पनाकार पारस मणि पोखरेलले गर्नु भएको थियो ,साथै जापानी ब्यावसायिहरु नेपाल जादा खिचेका तस्बिरको समेत प्रदशनी गरिएको थियो । नेपाल गएका जापानी पर्यटक र नेपालमा ब्यबसाय आरम्भ गरेका जापानीको छोटो अनुभवले कार्यक्रम अझ रोमान्चित बनेको थियो भने कलाकार मन थापाको सारंगी प्रस्तुतिका
साथै समिर र शान्ति लामाको नृत्यले पनि जापानीहरुको माझ मनोरन्जन थपेको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य पारस मणि पोखरेल र धन्यबाद ज्ञापन ओम गुरुङले दिनु भएको थियो ।
नेपाली राजदुतवास टोक्यो ,नेपाल पर्यटन बोर्ड र जापानी युवा उद्धमीको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमको कार्यक्रम सन्चालन रोटरी क्लब जापानका फुकुदा तेचुओ फुकुदाले संचालन गर्नु भएको थियो ।