गुण्डागर्दी नियन्त्रण पहिलो प्राथमिकता : एसपी राठौर

आनन्द पोखरेल

चितवन, ०५ । चितवनको प्रहरी प्रमुखको रुपमा बुधबारदेखि कार्यभार सम्हालेका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।
अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नु प्रहरीको मुख्य दायित्व भएकोले ऐन तथा नियमलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै गुण्डागर्दी नियन्त्रणमा प्राथमिकता दिने राठौरले बताएका हुन् । शनिबार बिहान सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राठौरले चितवनमा पाँच प्रकारका गुण्डाहरुको लिष्ट बनाएकोले त्यसैअनुसार उनीहरुमाथी निगरानी बढाउँदै कारबाही गरिने बताए । चितवन प्रहरीले चितवनमा फ्याउरे गुण्डा, टोले गुण्डा, व्यावसायिक रुपमा लागेका गुण्डा, संरक्षित गुण्डा र राजनीतिक गुण्डा गरि गुण्डाहरुको वर्गिकरण गरेको छ ।
विगतमा भएका अपराधिक क्रियाकलापमा संलग्नहरुको रेकर्ड हेरेर उनीहरुले गलत काम गरेको भेटाएमा तत्काल कारबाही गर्ने टिम तयार भएको राठौरले बताए ।
अवैध रुपमा राखिएका साना हातहतियार, विष्फोटक पदार्थहरु नियन्त्रणको लागि विशेष टोली निर्माण गर्दै मावन बेचबिखन र यौन व्यवसाय नियन्त्रणलाई समेत प्राथमिकतामा राखेर काम गर्ने प्रहरी उपरीक्षक सुशीलसिंह राठौरको भनाइ छ ।
घरेलु मदिराका कारण महिला हिंसा बढेकोले यसको नियन्त्रण, प्रतिबन्धित लागु औषध नियन्त्रण, फरार अभियुक्त पक्राउको लागि सबैसँग मिलेर काम गने राठौरको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले चितवनका गुण्डाहरुको लिष्ट तयार गरिएको उल्लेख गर्दै सुध्रिएका गुण्डाहरुको सुरक्षा गर्दै गलत गर्नेलाई प्रहरीले नछोड्ने बताए । जिल्लामा भएको शान्ति सुरक्षालाई अझै मजबुत बनाउनको लागि कार्ययोजना निर्माण गरेर अगाडि बढिएको ढकालको भनाइ छ ।