चितवनका तीन युवा सम्मानित

चितवन, ०१ जेठ । जिल्ला युवा समितिको कार्यालय चितवनले विभिन्न तीन वटा क्षेत्रका युवालाई सम्मान तथा उद्यमी बन्न चाहने युवाहरुलाई प्रशिक्षण दिएको छ ।
कार्यालयले युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ मार्फत युवाहरुलाई सम्मान तथा प्रशिक्षण दिएको हो । समितिले उत्कृष्ट युवा उद्यमी भन्दै भरतपुर १५ का प्रकाश थपलिया, विज्ञान तथा प्रविधिमा राप्ती नगरपालिकाका सरोज चेपाङ र संगीत तथा कला क्षेत्रमा खैरहनी नगरपालिकाका विमस सूचिकारलाई पाँच हजार रुपैयाँ सहित सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा जिल्लामा रहेर उद्यमी बन्ने चाहना राख्ने ४५ जना युवाहरुलाई रोजगार र उद्यमशीलता विषयमा प्रशिक्षण समेत दिइएको छ । युवाहरुलाई जागरुक बनाउँदै उद्यमशीलतातर्फ अग्रसर बनाउन तालिम सञ्चालन गरिएको जिल्ला युवा समिति चितवनका प्रमुख भूमिलाल सुवेदीको भनाइ थियो ।
युवाहरुको वर्तमान अवस्था र उद्यमको महत्वको बारेमा प्रशिक्षक रामदत्त जोशीले प्रशिक्षण दिनुभएको थियो । युवा मन्त्रालयको एक युवा एक उद्यमको अवधारणालाई टेवा पु¥याउनको लागि युवाहरुलाई प्रशिक्षण दिइएको हो । जिल्ला युवा समिति चितनले जिल्लामा उद्यमी बन्न चाहने युवाहरुलाई विनो धितो पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ ।
जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डाक्टर तिलचन्द्र भट्टराई विशेष अतिथि रहेका थिए ।