मानव बेचबिखन विरुद्ध सञ्चारकर्मीसँग अन्तरक्रिया

चितवन, ०१ जेठ । मानव बेचबिखच विरुद्ध काम गर्दै आएको माइती नेपालले चितवनका सञ्चारकर्मीहरुसँग मानव बेचबिखन, सुरक्षित बसाईँसराई तथा लैंगिक हिंसाका बारेमा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका शाखाका अध्यक्ष राधेश्याम खतिवडाले चितवनमा बसाईँ सरेर आउने व्यक्तिहरुको संख्या बढ्दै गएकाले चितवन असुरक्षित हुँदै गएको बताए । चितवनमा मानव बेचबिखन, लैंगिक हिंसाका बारेमा वर्षेनि समस्याहरु बढ्दै गएको खतिवडाले बताए । लैंगिक हिंसा धेरै प्रकारको हुने भएकाले यसलाई सुक्ष्म अध्ययन गर्दै समस्याको किनारा लगाउनुपर्ने खतिवडाको भनाइ थियो ।
त्यस्तै, माइती नेपाल क्षेत्रीय कार्यालय चितवनका प्रमुख ईश्वर गिरीले जटिल खालका समस्यालाई पनि गाउँमा मिलापत्र गराउने घटना बढेको भन्दै पीडितलाई न्यान दिनुपर्नेमा जोड दिए । मिलापत्रको नाममा पीडितलाई पीडा दिनु भनेको झनै अन्याय भएकोले त्यस्ता घटनामा कानुनी उपचार खोज्नुपर्ने गिरीको भनाइ थियो ।
माइती नेपाल केन्द्रीय कार्यालय काठमाडौँका कार्यक्रम अधिकृत रविन्द्र सापकोटाले अन्तरक्रियामा मानव बेचबिखनका विरुद्धमा सञ्चार माध्यमहरुले खबरदारी गरिरहनुपर्ने बताए । हिंसा पीडित महिला तथा पुनस्र्थापित महिलाहरुको समाजमा स्थापित भए पछिको सफलताको कथालाई सञ्चार माध्यमले प्राथमिकतामा राखेर काम गरेको खण्डमा उत्पीडनमा परेका व्यक्तिहरुमा जीवन प्रति सकारात्मक दृष्टिकोण आउने सापकोटाले बताए । मानब बेचबिखन विरुद्धमा पत्रकारहरुलाई लेखनवृत्ति दिनको लागि केन्द्रमा कार्यक्रम बनाउन सहयोग गर्ने सापकोटाको भनाइ थियो ।