करिश्माकी छोरी कविताको फिल्ममा डेब्यू    

काठमाडौं, बैशाख ३० । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले फिल्ममा डेब्यू गर्ने भएकी छन्।

एक्सन स्टार शिव श्रेष्ठले निर्माण गरिरहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ बाट कविताले डेब्यू गर्न लागेकी हुन्।

कविताले शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठसँग स्क्रिन सेयर गर्ने फिल्मका निर्देशक दिपेश सापाकोटाले जानकारी दिए। केही वर्षसम्म अध्ययनका लागि अमेरिका बस्दै अाएकी कविता एक वर्षयता नेपालमै छिन्।

यसअघि करिष्माले छोरीलाई आफ्नै होम प्रोडक्सन मार्फत डेब्यू गराउने बताउँदै आएकी थिइन्। तर, कविताले शिवको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट आफ्नो अभिनय यात्रा थाल्ने भएकी छन्।

यस फिल्ममा स्टार कलाकारहरु प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सन्जोग कोइराला लगायतको अभिनय रहनेछ।

प्राप्त जानकारी अनुसार कविताले चलचित्रको एउटा गीतमा अभिनय पनि गरिसकेकी छन् ।

नेपाली फिल्मक्षेत्रमा ३ दशक यात्रा तय गरेसकेकी करिश्माको प्रशंसनीय अभिनयको स्तरलाई छोरी कविताले धान्न सक्लिन् त? यो भने पर्खाइको विषय बनेको छ।