भीमोदय माध्यमिक विद्यालयलाई सबैको साथ

सन्तकुमार चौधरी
चितवन, २८ बैशाख । पदमपुर स्थित भीमोदय माध्यमिक विद्यालयको शैक्षिक स्तर विकासका लागि सबैको सहयोग आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । विद्यालयको ४७ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा हभागीहरुले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै भूमिसुधार, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामाले शैक्षिक क्षेत्रमा भीमोदय माध्यमिक विद्यालयलेले दिएको योगदानको प्रशंसा गर्नुभयो । प्रमुख अतिथि समेत रहनुभएका सहकारी मन्त्री लामाले विद्यालयको शैक्षिक विकासका लागि आफुले सक्दोसहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । विद्यालयले प्रविधिको प्रयोगमा समेत फड्को मार्न लागेको भन्दै विज्ञान प्रविधि कक्षा संचालनका लागि सबैखालका सहयोग गर्न तयार रहेको मन्त्री लामाले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य घनश्याम दाहाल ( अविनाश )ले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले गृहकार्य थालेको बताउनुभयो । शैक्षिक क्षेत्र सुधारका लागि सरकार आफै पनि गम्भिर भएर लागेको उहाँको भनाई थियो । मुलुक नयाँ संरचनामा गइसकेकाले शैक्षिक क्षेत्रमा देखिएका गम्भिर समस्याहरु एकपछि अर्को समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले भीमोदयलाई नमुना विद्यालयको रुपमा विकास गरिने बताउनुभयो । विद्यालयको विज्ञान प्रविधि कक्षा संचालनका लागि उहाँले नगरपालिकाको तर्फवाट तत्काल २० लाख रुपैयाँ प्रदान गरिने घोषणा समेत गर्नुभयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मनोज गैरेले शैक्षिक क्षेत्रमा थुर्पैखालका समस्याहरु थपिदै गएको बताउनुभयो । सरकारले निशुल्क शिक्षा घोषणा गरेपनि पर्याप्त स्रोत, साधन र जनशक्ति नभएका कारण सरकारी योजनाहरु पूर्ण रुपमा सफल हुन नसकेको तर्क गर्नुभयो । उहाँले अबको शिक्षा, विद्यार्थी मैत्री सिकार्इ हुनुपर्नेमा समेत जोड दिनुभयो ।

पुरानो पदमपुरवाट बस्ती स्थानान्तरण भएसँगै पदमपुरको वडा नं. ५ मा निर्माण भएको यो विद्यालयको बेग्लै इतिहास र पहिचान रहेकाले यसलाई अझै व्यस्थित र सुन्दर बनाउने दायित्व स्थानीयको समेत भएकाले समाजसेवी नन्दप्रसाद भट्टराईले विद्यालय परिसरमा मञ्च निर्माण गर्ने प्रतिवद्धता जनाउनुभयो । मञ्च निर्माणपछि साना – ठूला कार्यक्रम आयोजना गर्न वेग्लै मञ्च बनाउन नपर्ने भन्दै मञ्च निर्माणका लागि आफु अगाडी सरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर अस्पतालका लेखा अधिकृत हरिहर तिवारीले आफ्ना बुबा आमाको स्मृतीमा १ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभयो । यसैगरी हाईक हिमालय माउन्टेरिङ संस्थाका प्रमुख रोटरियन प्रकाश अर्यालले नगद ४२ हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गर्नुभयो । विद्यालयमा अध्ययरत्त गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई दिइने छात्रवृतिका लागि सो रकम हस्तान्तरण गर्नुभएको हो । यस अघिपनि ३५ थान ल्याप्टप र ७२ हजार रुपैयाँ नगद छात्रवृतिका लागि विद्यालयलाई प्रदान गर्नुभएको विद्यालयका प्रधानध्यापक डा. हरिप्रसाद कंडेलले जानकारी दिनुभयो ।
यसैबीच लायन्स क्लब पदमपुरले १ सय ७९ जनालाई ब्रस, मन्जन र साबुन दिने निर्णय गरेको छ । यस्तै देवघाट विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले १ सय ७९ जनालाई स्टेशनरी दिनुभयो । यस्तै स्थानीय अरस सापकोटाले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई आवश्यक स्टेशनरी प्रदान गर्नुभयो ।
विद्यालको वार्षीक उत्सवको अवसरमा कालिका नगरपालिकाको वडा नं. ५ का जनप्रतिनिधिहरुले पाँचजना विद्यार्थीको अभिभावकत्व ग्रहण समेत गरेका छन् । यस्तै नाराणण्ी पब्लिक कलेजका संचालक राजेश्वर खनाल र स्थानीय प्रकास चन्द्र भट्टराईले पनि दुई–दुईजना विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गरेका छन् ।
पछिल्लो पटक सामुदायिक विद्यालयहरुमा प्रविधिको प्रयोग गर्ने विद्यालयहरुमा अग्रस्थानमा रहेको भीमोदय माध्यमिक विद्यालयले कक्षा ८ मा सामुदायीक तर्फ जिल्लाकै दोश्रो हुन सफल भएको छ ।