चिकित्सकले जिवित राख्न सकिन्न भनेका बालक अचानक बिउंझिए पछि।

अमेरीका,२७ बैशाख । एक बालक उनको अभिभावकले अंगदान गर्ने निर्णय गरिसकेपछि अचानक होसमा आएका छन्। अमेरिकाको अलाबामा राज्यका ट्रेन्टन म्याक्किन्ले नामक १३ वर्षे बालक मार्चमा एक कार ट्रेलरबाट लडेर गम्भीर घाइते भएका थिए। उनको टाउको जमिनमा बज्रेको थियो र मस्तिष्कमा गम्भीर चोट लागेको थियो। उनको टाउकोमा सात स्थानमा हड्डी भाँचिएको थियो।

उपचारको क्रममा अनेकौँ पटक उनको टाउकोबाट भाँचिएको हड्डीका टुक्रा निकालिएको थियो। उनको मृगौलाले काम गर्न छोड्नुका साथै हृदयघात पनि भएको थियो। उनकी आमा जेनिफर रेन्डललेका अनुसार शल्यक्रिया गर्ने टेबलमै १५ मिनेटजति उनको सास गएको थियो। चिकित्सकहरुले उनको परिवारलाई उनी ‘कहिल्यै सामान्य नबन्ने’ बताएका थिए। त्यसपछि उनको अंगदान गर्ने कुरा चलेको थियो र उनको अंग प्रत्यारोपणका लागि ५ अन्य बालबालिकालाई तयार गरिएको थियो। छोरो नबाँच्ने भएपछि उनकी आमा अंगदान गर्ने कागजमा हस्ताक्षर गर्न तयार भएकी थिइन्। किनभने ट्रेन्टनको अंगले अन्य ५ बालबालिकाको ज्यान बाँच्ने थियो।

‘हामीले हुन्छ भन्यौँ। यसले अंगदानका लागि अंग निकालुञ्जेल ट्रेन्टनलाई जिउँदो राख्ने कुरा पनि निश्चित भयो,’ रेन्डलले भनेकी छन्, ‘भोलिपल्ट उसको मृत्युको समय निश्चित गर्न अन्तिम ‘ब्रेन वेभ टेस्ट’ गरिने तय भएको थियो। तर भाइटल साइनमा सुधार आएपछि परीक्षणमा ढिलाइ गरियो।’त्यसपछि उनको होस आयो र अहिले उनको स्वास्थ्यमा बिस्तारै सुधार भइरहेको छ। लडेपछि आफूलाई केही सम्झना नभएको ट्रेन्टनले बताएका छन्। उनी अझै पीडा महसुस गरिरहन्छन्। अझै उनको शल्यक्रिया गर्नुपर्ने बताइएको छ। पछिल्लो समय उनी हिँडडुल, बोलचाल गरिरहेका छन्। यसरी ‘लाइफ सपोर्ट’ हटाउनुअघि उनको होस आउनुलाई थुप्रैले चमत्कारको संज्ञा दिएका छन्।