कृषि मन्त्री चक्रपाणीको उद्घोष किसानको वर्गिकरण गरेर कृषि अनुदान

 

चितवन, वैशाख २२ । कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले किसानको वर्गिकरण गरेर कृषि अनुदान दिनु पर्ने वताएका छन् ।
चितवन केरा उत्पादक संघको शनिबार रत्ननगरमा आयोजित चौथो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन गर्दै कृषि मन्त्री खनालले निर्वाहमुखी र व्यवसायिक रुपमा कृषि पेशा गर्ने किसानलाई फरक फरक अनुदानको व्यवस्था गर्नु पर्ने वताए ।
कुनै किसानले एक लाख अनुदान पाउनु पर्नेमा ५० हजार किसानले पाउँछन् उनले थपे –५० हजार फिर्ता लगेर गोजीमै हाल्ने चलन छ यस्तो प्रवृती हटाउन नयाँ निति आवश्यक पर्छ ।
कृषि विकास वैंक मार्फत ६ प्रतिशत व्याजमा ऋण पाउने भएतापनि त्यो कार्यान्वयन नभएको तर्फ इंगित गर्दै मन्त्री खनालले कृषिको स्तर उठाउन भुमी किसान वैंक स्थापना गर्नु पर्ने औल्याए ।
कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले वर्षेनी भारतबाट केरा आयात हुदै आईरहेको भन्दै नेपालमा क्षेत्र विस्तार गरेर उत्पादन वढाउनु पर्ने वताए । कार्यक्रममा चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले केराखेतीलाई आत्मनिर्भर वनाउन हालको कृषि व्याजलाई ४ प्रतिशतमा झार्नु पर्ने, केरामा लाग्ने भन्सार दरलाई वढाउनु पर्ने,क्वारेनटायन चेकजाँचमा कडाई गर्नु पर्ने लगायत माग गरे ।
चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, किसान आयोगका अध्यक्ष चित्रवहादुर श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य डाक्टर तीलचन्द्र भट्टराई, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, जिल्ला कृषि विकास कार्यालय चितवनका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा केराखेती र केरा किसानको विकासमा पत्रकारीता मार्फत पुर्याएको योगदानको मुल्यांकन गर्दै पत्रकारहरु रमेशकुमार पौडेल, प्रविण दत्त, अनिल ढकाल र विकास पौडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी कृषि मन्त्री चक्रपाणी खनाल र संघका अध्यक्ष विष्णुहरी पन्तले माला लगाई सम्मान पत्रले सम्मान गरेका थिए ।