चितवनमा बन्दको प्रभाव न्यून

चितवन, २२ बैशाख । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा आंशिक रुपमा परेको छ ।
बन्दका कारण बजारहरु बन्द छन् भने लामो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् । स्थानीय रुटमा सञ्चालन हुने साना सवारी साधन र पर्यटक गाडीहरु भने सञ्चालन भइरहेका छन् । कुनै अप्रिय घटना हुन नदिन चितवनको मुख्य बजार क्षेत्रमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बन्दका क्रममा पूर्वी चितवनको राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ । शनिबार बिहान करिव ४ः३० बजेको समयमा लामाको घर नजिक बम विस्फोट हुँदा लामाको घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
उपप्रमुख लामाको घरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय समेत रहेको छ । बम विस्फोटको प्रकृति हेर्दा प्रेसर कुकर बम विस्फोट भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यसैबीच, चितवन प्रहरीले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता पक्राउ गरेको छ । शुक्रबार र शनिबार गरि चितवनका विभिन्न ठाउँबाट पक्राउ परेका विप्लबको कार्यकर्तालाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । पक्राउ पर्नेमा नारायण लामिछाने, केशव परियार, प्रशान्त तामाङ, अमित गुप्ता र समिर तामाङ रहेका छन् ।