सिन्डिकेटविरुद्ध सरकार आक्रामक : रुट परमिट खारेजदेखि बैंक खाता रोक्कासम्म

काठमाडौं,२२ बैशाख । यातायात राष्ट्रिय व्यवसायी महासंघले शुक्रबार सार्वजनिक सवारीसाधन नचलाउँदा उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । सरकारले मनोमानी ढंगमा यातायात तथा सवारी निर्देशिका संशोधन गरेको भन्दै विरोधस्वरूप आन्दोलनमा उत्रेका हुन् । व्यवसायीको शुक्रबारको कार्यक्रमपछि सरकार सिन्डिकेटविरुद्ध अझै कडा देखिएको छ ।

महासंघअन्तर्गत अधिकांश समितिले शुक्रबार सवारीसाधन सडकमा ननिकालेपछि सुरक्षाकर्मीले देशभरबाट महासंघसम्बद्ध ९३ जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ । अत्यावश्यक सेवामा हडताल कानुनसम्मत नभएको भन्दै सरकारले यातायात व्यवसायी र समितिको बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयमा आकस्मिक रूपमा बसेको यातायातमन्त्री रघुवीर महासेठ, गभर्नर चिरञ्जीवी नेपालसहित तीनवटै सुरक्षा निकाय प्रमुखको बैठकले यस्तो निर्णय गर्दै समितिहरूको सम्पत्तिसमेत छानबिन गर्ने तयारी गरिएको बताइएको छ ।

त्यसैगरी, सरकारले शुक्रबार नै नयाँ बसपार्कबाट समिति र संघको काउन्टर हटाएको मात्र होइन, उपत्यकाका २६ माइक्रोबसको रुट परमिट खारेज गरेको छ ।

महासंघ, समिति र संघअन्तर्गत सार्वजनिक सवारीसाधन सञ्चालनमा नआए पनि उपत्यकासहित देशभर साझा, सिटी मेट्रो, अन्नपूर्ण, मयुर, बज्रवाराही, महानगर, गोकर्ण यातायातलगायत २४ कम्पनीको सात सय १७ वटा सार्वजनिक साधन सञ्चालन भएको यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यकाको भित्री सडकमा सार्वजनिक सवारीसाधन पूर्णरूपमा ठप्प भए पनि चक्रपथमा भने करिब दर्जन यातायात कम्पनीले सिन्डिकेट तोड्दै सवारीसाधन सञ्चालनमा ल्याएका थिए । ‘सिन्डिकेट असफल बनाउन शुक्रबार बिहानदेखि सरकारले सञ्चालनमा ल्याउने भनेको वैकल्पिक उपाय कार्यान्वयन गर्न सकेन’ उपभोक्ता वा अधिकार मञ्चका ज्योति बानियाँले भने, ‘सरकारको भनाइ र गराइका कारण लाखौं यात्रु सास्ती व्यहोर्न बाध्य भए ।’

आन्दोलनमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनको नैतिक समर्थन रहे पनि पेट्रोलियम ढुवानी र वितरणमा कुनै अवरोध भएन ।

उता, यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने सरकार कुनै हालतमा आन्दोलनकारीसँग नझुक्ने अडानमा रहेको बताए । उनले भने, ‘कतिपय स्थानमा सुरक्षाकर्मीले यातायात नियन्त्रणमा लिएर सर्वसाधारणलाई सेवा दिएका छन् । सरकार कुनै पनि हालतमा पछि हट्दैन ।’

गृहमन्त्री रामबहादुर बादलका स्वकीय सचिव किरण भट्टराईले यातायात व्यवसायीले शुक्रबार एक दिन मात्रै सवारी साधन ठप्प पार्ने कार्यक्रम घोषणा गरेकाले एक दिनका लागि सरकारी स्वामित्वको सवारीसाधन सञ्चालनमा ल्याउन नसकिएको बताए । उनले भने, ‘एक दिनको बन्द कार्यक्रम निस्तेज पार्न सम्पूर्ण सरकारी सवारीसाधन ल्याएर सञ्चालन गर्न प्राविधिक रूपमा केही कठिनाइ छ । तर, उनीहरूले भनेको अनिश्चितकालीन बन्दका बेला भने सम्पूर्ण सरकारी सवारीसाधन र व्यवसायीका सवारीसाधनसमेत नियन्त्रणमा लिएर सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ ।’ आजको अन्नपूर्णपोष्टमा खबर छ ।