गरिब तथा जेहेन्दार विद्यार्थीलाई दिइने छात्रबृतिका लागि अक्षय कोष स्थापना

सन्तकुमार चौधरी
चितवन २१, बैशाख । रत्ननगर १ निपनी स्थित ओम शान्ति राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत्त गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति दिन अक्षय कोष स्थापना गरिएको छ ।

सोही विद्यालयकी शिक्षिका सृजना खनाल र निराजन खनालले स्वर्गीय बुबा नवराज खनालको स्मृतीमा ५० हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गर्नुभएको हो । शुक्रवार विद्यालय परिसरमा आयोजना गरिएको छात्रवृति वितरण कार्यक्रममा अक्षय कोषका लागि ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

निराजन खनाल रत्ननगर उद्योग बाणिज्य संघका महासचिव हुनुहुन्छ । यसैबीच नेपाल ह्याचरी उद्योग संघका सदस्य पुरु खनालले विद्यालयमा अध्ययरत्त विद्यार्थीहरुका लागि पोशाक वितरण गर्नुभयो ।

पोशाक वितरण गर्दै खनालले आफुहरुको सानो कामले विद्यार्थीहरुको मनोवल बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय नविन श्रेष्ठ र शुरेसमान श्रेष्ठले विद्यार्थीलाई आवश्यक पर्ने जुत्ता मोजा हस्तान्तरण गर्नुभयो । सो अवसरमा विद्यालयले आफ्ना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति सँगै स्टेशनरी वितरण गरेको छ ।

कार्यक्रममा सहयोगीदाताहरुलाई खादा र सम्मानपत्रले सम्मान समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर महतोको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सहयोगीतदाता निराजन खनाल, नविन श्रेष्ठ, टेकनाथ मिश्र, नेपाल ह्याचरी उद्योग संघका सदस्य पुरु खनाल लगायतले बोल्नुभएको थियो । विद्यालयमा पिछडावर्ग देखि विपन्न समुदायका बालबालिकाहरुको बाहुल्यता रहेको प्रधानध्यापक राधा चौधरीले जानकारी दिनुभयो ।