सरकारले उपयोगी शिक्षामा जोड दिएको छ : प्रधानमन्त्री ओली

चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उपयोगी शिक्षामा जोड दिएको बताएका छन् ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उनले सरकारले उपयोगी शिक्षामा जोड थालेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको उल्लेख गर्दै २००७ सालपछि देश नयाँ शिक्षातर्फ उन्मुख भएको र त्यसअघि औपनिवेशिक आवश्यकताको उपनिवेशको बासिन्दालाई कमाउन सिकाउने खालको शिक्षा रहेको धारणा व्यक्त गरे ।

नेपाल कृषि प्रधान देश रहेको र दुई तिहाइ जनसंख्या कृषिमा आधारित भएर पनि खाद्यान्न आयात गर्नु पर्ने अवस्था रहेको बताउँदै उनले अन्न नपुगेरभन्दा पनि खाने बानीको समस्याका कारण अभाव भएको हो बताए ।

प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व अहिलेको भन्दा चार गुणा बढी बढाउनुपर्नेमा जोड दिदैं “यसका लागि प्रविधि र अनुसन्धानको विकास गरेर खाद्यान्नको परिपूर्ति गर्नुपर्ने आवश्यकता छ रहेको बताए ।

बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले दीक्षित भएर जाने विद्यार्थीले राष्ट्र र जनताको हित अनुकूल काम गर्न आवश्यक रहेको बताए ।
दोश्रो पटक प्रधानमन्त्री भएपछि केपी शर्मा ओली पहिलो पटक चितवन आएका हुन् ।