चितवनका प्रजिअ भट्टको बिदाई

चितवन, २० बैशाख । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सरुवाभएसँग उनलाई बिहीबार बिदाइृ गरिएको छ ।
भट्टको सरुवा भएसँगै अफिसर्स क्लब चितवनले उनको बदाईमा फेरि भेटौँला कार्यक्रम गर्दै आगामी कार्यकाल सफलताको लागि शुभकामना समेत दिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको सभाहलमा भट्टको बिदाई गर्दै विभिन्न कार्यालयका प्रमुखहरुले चितवनमा भट्टले गरेका सुधारको बारेमा चर्चा समेत गरेका थिए ।
कार्यक्रममा विभिन्न सरकारी कार्यालयको तर्फबाट मन्तव्य राख्दै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भट्टको कार्यकालमा चितवनमा धेरै प्रशासनिक सुधार भएको उल्लेख गरे ।
त्यस्तै, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाले भट्टले सुरक्षाको राम्रो प्रबन्ध मिलाउँदा चितवनमा सुरक्षा सतर्कता अपनाउन आफूहरुलाई सहज भएको बताए । प्रजिअ भट्टले निर्माण गरेको कार्ययोजना अनुसार नै चितवनमा शान्तिपूर्ण रुपमा तीन वटै तहको निर्वाचन सम्पन्न भएको बताए ।
२०७३ मंसिर २० गतेदेखि चितवनको प्रमुख जिल्ला अधिकारीको रुपमा रहेका भट्टले मुग्लिङ नारायणगढ सडकखण्ड निर्माणमा महत्वपूर्ण अडान कायम गर्दै कामको प्रगतिमा भूमिका खेलेका थिए । चितवनबाट बिचौलियाहरु हटाउन र सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउनका लागि भट्टको भूमिकालाई महत्वपूर्ण मान्न सकिन्छ ।
कार्यक्रम अफिसर्स क्लब चितवनका अध्यक्ष लक्ष्मी प्रसाद वास्कोटाको अध्यक्षतामा भएको थियो ।