सुन तस्करीका आरोपी एसएसपी लोहनीले पत्रकारलाई लात्ती हानेपछि….

मोरङ, १९ वैशाख । ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीले जिल्ला पत्रकारमाथि लात्ती प्रहार गरेका छन् ।
जिल्ला अदालत मोरङबाट जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा पत्रकारहरुले आफ्नो फोटो खिचेको भन्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका हुन् । लोहनीले उज्यालोका मोरङ संवाददाता सुमन सुस्केरा र पत्रकार ध्रुव भट्टराईमाथि फोटो खिचेको भन्दै लात्ती प्रहार गरेका हुन् ।
तथानाम गाली र अपशब्द प्रयोग गर्दै एसएसपी लोहनी पत्रकारमाथि जाइलागेका थिए । ‘मेरो फोटो खिच्छस्’ भन्दै उनले पत्रकारमाथि लात्ती प्रहार गरेका थिए । उज्यालो संवाददाताको क्यामेरामा ताक्दै उनले दुई पटकसम्म आक्रमण गरेका हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक दिवेश लोहनीलाई बुधबार मोरङ प्रहरीले पक्राउ गरेको थियो ।
साढे ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्यको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मोरङमा बयान दिन पुगेका लोहनीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिन समितिले महाशाखाका तत्कालीन एसएसपी लोहनीको भूमिकालाई शंकास्पद रहेको ठहर गरेको थियो ।