मेयर रेनुले भनिन् रक्तसञ्चार केन्द्रको लागि उपयुक्त जग्गा खोजिन्छ

चितवन, १८ वैशाख ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रक्तसञ्चार केन्द्रको लागि उपयुक्त जग्गा खोजि गरिने वताएकी छन् । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय रक्तसञ्चार केन्द्र भरतपुरको आयोजनामा मंगलबार भएको रक्तदान उत्प्रेरणा, कार्य तालिका निर्माण तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले रेडक्रसको समन्वयमा बजार क्षेत्र भित्रै उपयुक्त स्थानको व्यवस्था गरिने प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

भरतपुर अस्पताल परिसर भित्र रहेको रक्तसञ्चार केन्द्रको भौतिक संरचना सांघुरो भएपछि केन्द्रले महानगरपालिकालाइ उपयुक्त जग्गाको माग गरेको थियो । नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय उप महामन्त्रि हरि प्रसाद न्यौपानेले रक्तदानबाट संकलन गरिएका रगतको गुणस्तर कायम राख्न पुर्वाधार विकास आवश्यक रहेको वताए ।

रेडक्रस सोसाइटि मानवताको पुल भएको भन्दै उनले रक्तदान कार्यक्रम गर्न इच्छुक संघसंस्थालाइ सदैव सहयोग गर्ने वताए । भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले रगत बढि खपत हुने यस समयमा रक्तदान कार्यक्रम आयोजना गर्न सुझाव दिएका छन् ।

रक्तदान गर्दा शरिरमा भएको ५ देखि ७ प्रतिशत मात्रै रगत निकालिने भन्दै उनले शरिरको १० प्रतिशत वा सो भन्दा बढि रगत नोक्सान भएमा मात्रै कमजोरीका लक्षण देखा पर्ने वताए । रक्तदान गरेर कमजोर बनिन्छ भन्ने मानसिकता आम नागरिकले हटाउनुपर्ने उनको भनाइ छ ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले नेपाल रेडक्रस सोसाइटिको सिफारिसमा आएका रक्तदान कार्यक्रमका आयोजकहरुलाइ ५० प्रतिशत छुटमा पल्पि जुस उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै नेपाल राष्ट्रिय अण्डा उत्पादक महासंघका अध्यक्ष त्रिलोचन कंडेलले रेडक्रसको सिफारिसमा आएका रक्तदान कार्यक्रमका आयोजकहरुलाइ एक युनिट रगत बापत २ ओटा अण्डाको मुल्य २५ रुपैया प्रदान गरिने वताए ।

महासंघले विगत १५ बर्षदेखि यस्तो सहयोग गर्दै आएको छ । १ सय ६२ पटक रक्तदान गरेको अग्रज रक्तदाता अर्जुन मैनालिले रक्तदाताहरु नै रक्तकर्मी भएर आम नागरिकहरुलाइ रक्तदान सम्बन्धि सचेतना बढाउन सके रगत अभाव न्युनिकरण गर्न मद्धत पुग्ने वताए । उनले १ सय ६२ पटकमा करिब ८१ लिटर रगत दान गरिसकेको वताएका छन् ।