नारायणगढ र गैंडाकोट जोड्ने नारायणी नदीमा सिग्नेचर पुल बन्ने

चितवन, १६ वैशाख । पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणगढ र नवलपरासीको गैंडाकोट जोड्ने हालको नारायणी पुलसँगै आकर्षक सिग्नेचर ब्रिज बनाइने भएको छ ।विसं २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सुन्दर नयाँ पुल निर्माण गर्न लागिएको हो ।

सडक विभागको पुल महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार महाशाखाका प्रविधिज्ञहरुलाई चिनिया विशेषज्ञले क्षमता अभिवृद्धिका लागि तालीम दिन शुरु गरिसकेका छन् । महाशाखाले देशका विभिन्न १० वटा नदीमा अहिलेसम्मकै सबैभन्दा सुन्दर पुलहरु निर्माण गर्न लागेको हो ।

चीनका पुल विज्ञ डा चेनले हाल महाशाखाका प्रविधिज्ञहरुलाई तालीम दिइरहनु भएको छ । पहिलो पुल नारायणी नदीमा निर्माण गर्ने योजना छ ।

प्रमुख थापाका अनुसार चारसय मिटर लामो सो पुल चार लेनको हुनेछ । अहिले भइरहेको पुलसँग जोडेर उत्तर वा दक्षिणतर्फ पुल बनाइनेछ । आउँदो आर्थिक वर्षभित्र पुलको डिजाइन सम्पन्न गरी अर्को वर्ष टेण्डर गर्ने तयारी छ । पाँच वर्षभित्र नयाँ पुल निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको थापाको भनाइ छ ।

विश्व बैंकले महाशाखाका प्रविधिज्ञहरुको क्षमता अभिवृद्धि गर्न र दुवैतर्फ घना वस्ती भएका १० नदीहरुमा सिग्नेचर पुल निर्माणमा सहयोग गर्न रुचि देखाएपछि काम अगाडि बढेको हो । देशका राजमार्गमा एक हजार ७०० पुल रहेका छन् । नारायणी नदीसँगै बुटवलको तिनाउ, सर्लाहीको बागमती, तनहुँको दमौली, पोखराको पृथ्वीचोक लगायतका ठाउँमा सिग्नेचर पुल निर्माण गर्ने तयारी गरिएको छ ।

नारायणी नदीमा पहिलो पुल निर्माण गर्ने तय भएपनि अन्य १० ठाउँको भने टुंगो लागि नसकेको उहाँले बताउनुभयो ।डिजाइन सम्पन्न भएपछि यकिन खर्च रकम आउने भएपनि यो पुल बनाउन करिब एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।नारायणी नदीमाथिको हाल रहेको पुलको आयु ७० वर्ष छ । अब बन्ने पुल भने एक सय वर्ष आयुको हुने बताइएको छ ।
विसं २०३८ साल अघि नारायणी नदीमा डुंगा ९फेरी० को सहायताले यातायातका साधन वारपार गराइन्थ्यो । रासस