स्थानीयद्वारा निकुञ्जका वन्यजन्तुले गर्ने आक्रमण नियन्त्रणको माग

चितवन, बैशाख १० । लगातार वन्यजन्तुको आक्रमण बढेको भन्दै चितवन निकुञ्ज आसपासका स्थानीयहरूले नियन्त्रणको माग गरेका छन्। वन्यजन्तु नियन्त्रणको माग गर्दै आईतबार केहीबेर पश्चिम चितवनमा सडक अबरुद्ध गरेर प्रदर्शन गरेका उनीहरूले सोमबार बिहानपनि केही घण्टा सडक बन्द गर्दै वन्यजन्तु बस्तीमा पस्ने र वाली नाली खानेक्रम रोक्न माग गरेको स्थानिय विकास पाठकले जानकारी दिए।

पाठकका अनुसार मानिसमाथि समेत आक्रमण हुन थालेको भन्दै यसतर्फ गम्भिर हुन आग्रह गरिएको बताए। क्षति बेहोरेका स्थानियहरूलाई उचित क्षतिपुर्ती दिन समेत स्थानियले माग गरेका छन्। जंगली हात्ती ध्रुवेले आईतबार यहाँको पाँच वटा घर भत्काएको थियो। यस्तै बँदेलको आक्रमणबाट एकजना घाईते समेत भएका थिए।

सोही घटनाको विषयमा स्थानीयले उचित क्षतिपूर्तीको माग गर्दै आईतबार ४ घण्टा भरतपुर–माडी–ठोरी हुलाकी सडक अवरुद्ध पारी घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी समेत गरेका थिए।

भरतपुर महानगरपालिका २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर हात्तीले भत्काएको थियो। क्षतिपुर्ती सहित वन्यजन्तु नियन्त्रणका विषयमा अहिले निकुञ्ज प्रशासन र स्थनीयवीच वार्ता सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

चितवन निकुञ्जको कार्यालय कसरामा जारी छलफलमा प्रदेशसभा सदस्य रामलाल चौधरी, केरुगा उपभोक्ता समितिका पदाधिकारी, निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल सहित स्थानीय र पीडित प्रतिनिधिहरू सहभागी छन्। उनीहरूले पीडितलाई उचित क्षतिपूर्ती, बाहिर आएका जनावरलाई भित्र पठाउन माग गरेका छन्।