वडा सचिवलाई अनलाईन अभिलेख प्रणाली सम्बन्धी प्रशिक्षण

चितवन, ८ बैशाख । चितवनका स्थानीय तहका वडा सचिवहरुलाई अनलाईन अभिलेख प्रणाली सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार देखि सौराहामा सुरु भएको छ ।
नेपाल सरकारको केन्द्रीय पञ्जिकरण विभागले आयोजना गरेको सो कार्यक्रम विभागका निर्देशक केशर बहादुर पण्डितले उद्घाटन गरेका थिए ।
सो अबसरमा पण्डितले राज्य कोषको दुरुपयोग हुन नदिन अनलाईन अभिलेख प्रणाली आवश्यक रहेको भन्दै वडा सचिवहरुले यो काम जान्नै पर्ने बताए । कार्यक्रममा सामाजिक सुरक्षा र घटना दर्ता सम्बन्धी अनलाईन फारम भर्न सिकाईने छ ।
तीन दिन सम्म चल्ने सो कार्यक्रममा निर्देशक पण्डित सहित विभागका सिनियर डेभलपर संजित पौडेल,एमआइएस प्रशिक्षक राजेन्द्र बुर्लाकोटीले प्रशिक्षण दिने विभागका नायव सुब्बा केदार सापकोटाले जानकारी दिए ।
कार्यक्रममा रत्ननगर नगरपालिका सहित जिल्लाका सात वटै स्थानीय निकायका ५० जना वडा सचिव र आइटी अफिसरहरुको सहभागिता रहेको छ ।