चितवनमा आर्थिक गणना सुरु

चितवन, ०४ बैशाख । चितवनमा रहेका व्यवसायिक प्रतिष्ठानहरुको गणना गर्ने र तथ्यांक राख्ने उद्देश्यले पहिलो पटक आर्थिक गणना सुरु भएको छ ।
बैशाख १ गतेदेखि सुरु भएको आर्थिक गणनाको लागि ८४ जना गणक र १२ जना गणना सुपरीवेक्षक खटिएका छन् । जिल्ला आर्थिक गणना कार्यालयले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरि आर्थिक गणनामा चितवन जिल्ला भरी रहेका औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानको गणना सुरु गरिएको जानकारी दिएको हो ।
जेठ मसान्तसम्ममा आर्थिक गणना सक्ने र त्यसको प्रारम्भिक नतिजा साउनसम्ममा प्रकाशन गर्ने कार्यालयको तयारी रहेको तथ्यांक कार्यालय भरतपुरका प्रमुख जीवनाथ आचार्यले बताए । कार्यालयले भरतपुर महानगरपालिकामा मात्रै ४८ जना गणक र छ जना सुपरीवेक्षक परिचालन गरेको छ । एक जना सुपरीवेक्षकले सात जना गणकलाई हेर्ने गरि सरकारी कर्मचारीलाई काजमा खटाइएको छ भने गणकहरु भने करारमा भर्ना गरिएको हो ।
आर्थिक सर्वेक्षणका लागि रत्ननगर नगरपालिकामा १३, खैरहनी नगरपालिकामा सात, राप्ती नगरपालिकामा पाँच, कालिका नगरपालिकामा चार, ईच्छाकामना गाउँपालिकामा चार तथा माडी नगरपालिकामा दुई जना गणकहरु खटाइएको छ । स्थानीय स्तरको तथ्यांक राम्रोसँग आउने भएकाले स्थानीय क्षेत्रका व्यक्तिहरुलाई गणकको रुपमा खटाइएको कार्यालयले जनाएको छ ।
आर्थिक गणनाको लागि जिल्लामा रहेको तथ्यांक कार्यालयको मातहतमा रहने गरि कार्यालय स्थापना गरिएको र स्थानीय तह अनुसार गणना सुरु गरिएको कार्यालयले जनाएको छ । गणना भएका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमा स्टिकर टाँसिने भएकाले कुनै पनि व्यवसाय तथा प्रतिष्ठान छुट्ने र दोहोरीने समस्या नआउने बताइएको छ । यो गणनाबाट जिल्लामा रहेका कति व्यवसाय दर्ता छन्, कति दर्ता हुन बाँकी छन् भन्ने जानकारीका साथै कस्ता प्रकृतिका कति वटा व्यवसाय रहेका छन् भनेर समेत जानकारी हुने आचार्यले बताए । आर्थिक गणनाबाट लिएको तथ्यांक गोप्य हुने भएकाले कुनै पनि व्यवसायीले नडराइ आफ्नो यथार्थ जानकारी प्रस्तुत गर्न समेत आचार्यले आग्रह गरेका छन् । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितिकी उपप्रमुख मुनाकुमार श्रेष्ठले आर्थिक गणनामा सघाउनको लागि सबै उद्योगी तथा व्यवसायीलाई आग्रह गरिन् ।