कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा

चाँदनी के.सी

सुर्खेत,  ३० चैत्र  । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
कर्णाली प्रदेश सरकारको आयोजनामा भोलीबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो ।

कर्णालीको राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
रारा पर्यटन वर्ष उदघाटनका लागि ओली मुगुको रारा जाँदैहुनुहुन्छ । भोली बिहान उद्घाटन अघि प्रधानमन्त्री ओली हिल्सा नाका पुग्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र कालिकोटको पँचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने उहाँले बताउनुभयो ।
यस्तै, कर्णाली प्रदेशको मन्त्री परिषद् वैठक आज मुगुको रारामा बस्दैछ ।
कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनका लागि मुख्यमन्त्री सहित मन्त्रीहरु रारा पुगेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा मन्त्री परिषद् वैठक बस्न लागेको हो ।

आज अपरान्ह ४ बस्ने वैठकमा कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकाससँगै उत्तरी नाका खोल्ने विषयमा छलफल हुने बताईएको छ ।
यसैबिच, रारा महोत्सव उद्घाटनका लागि गएकै बेला प्रधानमन्त्री ओलीले आगामी बर्षको भर्ना अभियानको पनि सुभारम्भ गर्नुहुने भएको छ ।
एक बालिकालाई विद्यालय भर्ना गराएर उहाँले भर्ना अभियान सुरु गर्ने कार्यक्रम रहेको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले जानकारी दिनुभयो ।
भर्ना अभियानलाई प्रभावकारी बनाउन दुर्गम क्षेत्रमा गएर प्रधानमन्त्रीबाट अभियानको उद्घाटन गराउन लागिएको उहाँले बताउनु भयो ।