प्रचण्डले गृहजिल्लाको आफ्नो वार्डमा भने,अबको शिक्षा वैज्ञानिक र जीवनोपयोगी हुनेछ (भिडियो)

चितवन, २९ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको शिक्षा वैज्ञानिक र जीवनोपयोगी हुने बताएका छन्।

गृहजिल्ला चितवनको स्थित आफ्नो वार्डमा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै प्रचण्डले जीवनोपयोगी शिक्षा अव सबैको शिक्षा हुने बताएका हुन्।

‘विगतको बेरोजगार उत्पादन गर्ने, प्रमाणपत्रधारी जनशक्ति उत्पादन गर्ने, अव्यवहारिक शिक्षा नीति नेपालको विकासको बाधक रह्यो’, उनले भने ‘अव बेरोजगारी समस्याको समाधान गर्न वैज्ञानिक, व्यावहारिक र उत्पादनमुखी शिक्षा नीति चाहिने भएकाले तपाइँहामी सबै त्यसतर्फ सबै लाग्नुपर्दछ ।’

 

 

 

विद्यालय शिक्षा सुधार कार्यक्रमलाई प्रभावकारी बनाइने भन्दै अध्यक्ष प्रचण्डले भनने – ‘सामुदायिक विद्यालयहरू कमजोर हुँदै जाने, विद्यार्थी र अभिभावकको रोजाइमा नपर्ने, निजी विद्यालयतर्फ आकर्षित हुने परिपाटीको अन्त्य गर्दै अब सामुदायिक विद्यालयहरूलाई विद्यार्थी र अभिभावकको रोजाइमा पार्नु पर्छ ।’

अध्यक्ष प्रचण्डले स्वर्ण विद्यालयको स्मारकको अनावरण समेत गरेका थिए । उनले आफू यसै वडाको बासिन्दा र यसै क्षेत्रको जनप्रतिनिधि हुनुको नाताले यस क्षेत्रको विकास गर्नु आफ्नो पहिलो कर्तव्य भएको बताए ।

‘जबसम्म शिक्षा र स्वास्थ्यलाई जनपक्षिय नीति लिईंदैन तबसम्म देशको विकास निर्माणका कुरा अधुरो नै हुन्छ, दाहालको भनाई थियो।’
उक्त आधारभुत विद्यालयले अहिलेसम्म पुर्जा प्राप्त गर्न सकेको छैन। यो जमिनलाई लालपुर्जा प्राप्त गर्न सहयोग गर्ने समेत उनले प्रतिबद्धता जनाए।

अधिकाँश सुकुम्बारी अभिभावक रहेको सो क्षेत्रका सुकुन्बारीलाई पुर्जा दिनका लागि प्रक्रिया शुरु भैरहेको भन्दै अध्यक्ष दाहालले विगतमा गरेको बाचा पुरा गरेरै छाड्ने दावी गरे।

‘पहिलो स्टेपमा जग्गा दर्ता हुन्छ, दोस्रो स्टेपमा पुर्जा वितरण हुन्छ, दाहालले भने, मेरो आफ्नै वडा भएकाले पनि यसका लागि नैतिक र राजनीतिक जिम्मेवारी मेरो छ ।’ सो क्षेत्र भरतपुर महानगर वडा नम्बर १४ मा पर्छ ।

नेपालमा नयाँ राजनीतिक परिस्थिति आईपुगेको भन्दै उनले नेपाल अब स्थिरता, स्थायित्व, शुशासन र सामाजिक न्याय सहितको नयाँ विकासको युगतिर लम्किएको बताए ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । सो क्रममा विद्यालयका अध्यक्ष गंगा बहादुर गौतम, प्रधानाध्यापक भोजराज पौडेल, वडाध्यक्ष ओमप्रकाश पोखरेल र स्थानिय खेम भट्टले विद्यालयको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।