३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणमा सघाउने नेपाल एयरलाइन्सका ३ कर्मचारी पक्राउ

काठमाडौं, २९ चैत । ३३ किलो सुन तस्करी र मोरङ, उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा सघाउने नेपाल एयरलाइन्सका तीन कर्मचारी पक्राउ परेका छन्। अनुसन्धान समितिले राजन थापासहित तीन जनालाई बुधबार पक्राउ गरेको हो।

थाई एयरलाइन्सका ८ जना कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन्।

गत फागुन १८ गते तस्करीको ३३ किलो सुन लुकाएको आशंकामा शाक्यको हत्या भएको थियो। हत्यामा संलग्न सुन तस्करहरुलाई महानगरीय अपराध महाशाखाले जोगाएको खुलेपछि गृह मन्त्रालयले सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले थप छानबिन गर्दा सो सुन विमानस्थलबाटै तस्करी भएको खुलेको हो। हालसम्म घटनामा संलग्न १९ जना पक्राउ परिसकेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध मुद्दामा उनीहरुविरुद्ध कारबाही अघि बढाएको छ।

अनुसन्धानमा लापबाही गरेको आरोपमा महाशाखाका एसएसपी दिवेश लोहनीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइसकिएको छ।

विमानस्थलबाट सो समूहले एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्दै आएको थियो। ‘स्टेप स्टेपमा सेटिङ मिलाएर विमानस्थलबाट सुन तस्करी हुँदै आएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘यसमा प्रहरीको पनि भूमिका शंकास्पद छ।’