अन्पूर्ण नेटर्वकद्धारा सौराहामा पहिलो पटक चितवनको पर्यटन विकासबारे राउण्ड टेवल (भिडियो)

चितवन, २९ चैत । चितवनको पर्यटन प्रवद्र्धन र विकासबारे बुधबार चितवनका स्थानीय सरकार, पर्यटन तथा होटल व्यवसायी र जिल्ला प्रशासन कार्यालयबीच बहस भएको छ । चितवनको पर्यटनलाई माथि उकास्नको लागि स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने भएकोले अन्नपूर्ण मिडिया नेटवर्क प्रालिले सौराहामा राउण्ड टेवल कार्यक्रमअन्तर्गत पर्यटन विकासबारे बहस चलाएको हो ।
देशको आर्थिक विकासको लागि सञ्चार माध्यमको भूमिका पनि महत्वपूर्ण हुने भएकोले यहाँको पर्यटन विकासबाट पनि देशको आर्थिक विकासमा सहयोग पुग्ने भएकोले सौराहामा पर्यटन विकास सम्बन्धि बहस कार्यक्रम आयोजना गरिएको एपिवन एचडीका समाचार प्रमुख टिकाराम यात्रीले जानकारी दिए ।

चितवनकाे साैराहाबाट LIVE

Publiée par Annapurna Post sur mardi 10 avril 2018

 

 

समग्र चितवन जिल्लाको पर्यटन विकासमा स्थानीय सरकारले पनि तदारूकता देखाएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललले चितवनको पर्यटन विकासको लागि भरतपुर महानगरले गर्नुपर्ने काम आफ्नो कार्यकालभित्र गरेरै छाड्ने दावी गरिन् ।
पर्यटकीय क्षेत्रको प्राकृतिक सम्पदालाई पर्यटकहरूको चाहना अनुसारको भौतिक संरचना निर्माण गरेरै भए पनि ओझेलमा परेका र पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना भएको क्षेत्रको विकासमा स्थानीय सरकार सधैँ सकारात्मक भएको उनले बताइन् ।


यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले चितवनको पर्यटन विकासको लागि जिल्ला प्रशासनले आवश्यकता अनुसार सबै खालको काम गर्न तयार रहेको बताए । जिल्लामा भएका सबै पर्यटकीय क्षेत्रमा आउने पर्यटकहरूको सुरक्षाको लागि प्रशासन तयार रहेको उनको भनाइ छ । साथै जिल्लालाई पर्यटनमैत्री बनाउनको लागि प्रशासनले आफ्नो जिम्मेवारी पूरा गर्ने उनले बताए ।

क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले समग्र सौराहाको पर्यटन विकासबारे जानकारी गराएका थिए । समग्र जिल्लाको पहिचान दिलाउनको लागि पनि सौराहाले ठूलो भूमिका खेलेको भन्दै स्थानीय सरकार र सम्बन्धित निकायले यसबारे ध्यान दिनुपर्ने उनको भनाइ छ ।
पर्यटन विकास समिति चितवनका महासचिव विश्वराज सुवेदीले पनि राज्यको सहयोगबिना निजी क्षेत्रबाट मात्रै मरिमेटेर विकास नहुने धारणा राखे ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेक्टर प्रमुख अभिनय पाठक, रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरी, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष भोजराज कौडाल, संघकै पर्यटन समिति संयोजक अशोक अधिकारी, होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीलगायतको उपस्थिति रहेको थियो ।


देशभरका विभिन्न स्थानमा राउण्ड टेबल सञ्चालन गर्दै आएको अन्नपूर्ण मिडिया नेटवर्क प्रालिले प्रदेश नं.३ को हेटौँडापछि चितवनको सौराहामा कार्यक्रम आयोजना गरेको हो । बुधबार भएको बहसले चितवनको पर्यटन विकासमा पनि टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।
कार्यक्रममा रेडियो अन्नपूर्ण नेपालका स्टेशन म्यानेजर ठाकुर वेल्वासे, एपिवान एचडीका महानिर्देशक विकास लामिछाने, मानव संसाधन व्यवस्थापक सुदन सिंजापति, एपिवान टेलिभिजनका तेजप्रसाद वाग्ले र ज्ञानेन्द्र खड्कालगायतको टोली चितवन आएका थिए ।