चट्याङ्ग लागेर दुई जनाको मृत्यु

डोटी, २८ चैत । डोटीको जोरायल गाउँपालिका २ डाँडाखालीमा बुधवार चट्याङ्ग लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा स्थानीय चक्र भण्डारीका १२ वर्षीय छोरा ओमप्रकाश भण्डारी र खेम भण्डारीका ९ वर्षीय छोरा भुवन भण्डारी रहेका छन् ।

खेम भण्डारीको घरमा खेलिरहेका बेला परेको चट्याङ्गले दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।