प्रहरी महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र नियुक्त

काठमाडौं, २७ चैत । सरकारले नेपाल प्रहरी र शसस्त्र प्रहरीको संगठनमा नयाँ महानिरीक्षक नियुक्त गरेको छ ।दुवै संगठनका हालका महानिरीक्षक प्रकाश अर्याल र सिंहबहादुर श्रेष्ठले बुधबारबाट एकसाथ अवकाश पाउँदैछन् ।

नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरिएको छ ।मन्त्रिपरिषदको मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रहरी महानिरीक्षकमा डीआइजी सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।नेपाल प्रहरीको २६औं महानिरीक्षक नियुक्त भएका खनाल वि।सं। २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

आफ्नै ब्याजका डीआइजी रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन् ।गत साउनमा प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवा हुँदा खनाल सबैभन्दा अगाडि १ नम्बरमा थिए ।खनाल प्रहरी सेवामा रहेर काम गरेका स्थानमा उत्कृष्ट काम गरेको छाप छाड्न सफल प्रहरी अधिकारी मानिन्छन् ।

यसैबीच  मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको छ ।सशस्त्र प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)खनाल, पुष्पराम केसी र नारायणबाबु थापा प्रतिस्पर्धामा थिए । वरीयताका आधारमा सशस्त्रमा शैलेन्द्र खनाल अगाडि थिए ।

दुवै प्रहरी संगठनमा बुधबारबाट एकसाथ महानिरीक्षक पद रिक्त हुँदै थियो ।रिक्त हुनुभन्दा एक दिनअगाडिमात्रै मन्त्रिपरिषदले नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई महानिरीक्षक बनाएको हो ।