रत्ननगरमा सार्वजनिक जग्गा संरक्षणको काम तीब्र, (भिडियो)

चितवन, २५ चैत । रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा खोज्ने र संरक्षण गर्ने कामलाई तीब्र पारेको छ ।
उसले भूमाफिया देखि पूर्व मन्त्रीले समेत अतिक्रमण गरेको सार्वजनिक जग्गा फिर्ता गराउन सफल भएको छ ।
पछिल्लो समय व्यवसायीहरुले सार्वजनिक जग्गामा बनाएर घर भत्काएर जग्गा खाली गर्ने काम सुरु गरिएको सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।
दश महिनाको अबधिमा ३० विगहा सार्वजनिक जग्गा खोजि गरी संरक्षण गरेको छ । हरिकुमार श्रेष्ठको अध्यक्षतामा गठित सार्वजनिक जग्गा संरक्षण समितिले सो अबधिमा ३० विगहा जग्गा खोजि गरी संरक्षण गरेको हो । असारमा बसेको रत्ननगर नगरपालिका कार्यकालिकाको पहिलो बैठकले सार्वजनिक जग्गा संरक्षण गर्ने निर्णय गरी समिति बनाएको थियो ।
सार्वजनिक जग्गा संरक्षणमा गर्ने क्रममा नगरपालिकाले कठोर निर्णय समेत गरेको छ । सार्वजनिक जग्गामा बनेका घर टहरा समेत भत्काउन सुरु गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।
आइतवार चितवनका व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गामा बनाएको घर ननगरपालिकाले भत्काएको छ ।
नगरपालिकाले घर भत्काउन दिएको समयाबधिमा खनालले घर भत्काउन आलटाल गरेपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको हो । वडा नं.१ र २ को सिमानामा पर्ने टाँडी बजारमा रहेको खनालको घरमा भत्काईएको नगरपालिकाले जनाएको छ ।
सात मिटर मोहडा र २५ मिटर लम्वाई भएको सार्वजनिक जग्गामा खनालले घर बनाएर व्यवसायिक प्रयोजनको लागि भाडामा दिएका थिए । घर भत्काउन दिएको म्याद भित्र खनालले घर नभत्काएपछि नगरपालिकाले डोजर लगाएर घर भत्काएको सार्वजनिक जग्गा संरक्षण समितिका अध्यक्ष श्रेष्ठले बताए ।
रत्ननगर नगरपालिकाकी कार्यबहाक नगर प्रमुख विमला दुवाडीको नेतृत्वको टोलीले स्थानीय तहको निर्वाचन पछि सार्वजनिक जग्गामा बनाईएको घर पहिलो पटक भत्काउन सुरु गरेको हो ।
कार्यबहाक नगर प्रमुख सहित वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,नगर सदस्य,प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना सहित नगरपालिकाका कर्मचारीहरु सहितको टोली सहभागी भएर घर भत्काउन सुरु गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय तहको निर्वाचन पछि कार्यपालिकाको असार ३१ गते बसेको पहिलो बैठकले नगर भित्रका सार्वजनिक जग्गा खोज्ने र त्यसको संरक्षण गर्ने निर्णय गरी समिति बनाएरै काम सुरु गरेको थियो ।
हरिकुमार श्रेष्ठ अध्यक्ष रहेको सार्वजनिक जग्गा संरक्षण समितिले तीब्र रुपमा जग्गा खोज्ने र संरक्षण गर्ने काम अगाडि बढाएको थियो ।
दुई बर्ष भित्र १३० विगहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गर्ने योजना रहेको उनले बताईन । व्यक्तिबाट नगरपालिकाले फिर्ता ल्याएको सार्वजनिक जग्गामा वसपार्क, इकोपार्क, कल्चरल भिलेज, सार्बजनिक शौचालय, पाकिङ स्थल तथा विश्राम स्थल बनाउने योजना रहेको कार्यबहाक नगर प्रमुख दुवाडीले बताईन । नगरपालिकाले सौराहाचोकबाट उत्तर तर्फ सार्वजनिक जग्गा खोजी गरी त्यहा पार्किङ स्थल निर्माणको काम सुरु गरिसकेको वडा नं.२ का वडा अध्यक्ष तिलकराज शर्माले जानकारी दिए ।
सात कठ्ठा जग्गालाई व्यवस्थापन गरी पार्किङ स्थल संगै सार्वजनिक शौचालय र व्यावसायिक सटर बनाउने काम सुरु भईसकेको उनले बताए ।
सार्वजनिक जग्गा संरक्षणको लागि समितिका संयोजक हरिकुमार श्रेष्ठ र समितिका सदस्यहरु सरस्वती लामा, राजेन्द्र हमाल, हेमराज थापा, चित्र बहादुर भण्डारी, विनोद बस्नेत, राजन भट्ट र रविन्द्र चौधरी, विष्णुहरि देवकोटा दिनरात लागि परेका छन ।