रत्ननगरमा आएको एम्वुलेन्स प्रचारको अभावले कम उपयोग

चितवन, २३ चैत । रत्ननगरमा सञ्चालित आधुनिक तथा सुविधा सम्पन्न एम्वुलेन्सले प्रदान गर्ने सेवाको बारेमा प्रचारप्रसार हुन नसकेका कारण यसको उपयोग कम भएको पाईएको छ ।
एम्वुलेन्सले प्रदान गर्ने सेवा र यसको प्रभावकारिताको विषयमा शुक्रवार सरोकारवालहरुसंग अन्र्तक्रिया कार्यक्रम गरिएको छ ।
नेपाल एम्वुलेन्स सेवा र रत्ननगर उद्योग बाणिज्य संघको सहकार्यमा रत्ननगर अस्पतालमा सञ्चालित सुविधा सम्पन्न एम्वुलेन्सको सेवाको विषयमा जिल्लाबासी कम जानकार भएपछि प्रचार प्रसारसंगै सेवा सुधारको लागि कार्यक्रम आयोजना गरिएको हो ।
२०७२ साल मंसिरबाट सञ्चालित सो एम्वुलेन्समा विरामीको उपचारको लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण,औषधि र डाक्टर समेत रहेका छन ।
गम्भीर प्रकृतिका विरामीहरु अस्पताल लैजादा लैजादै बाटोमै मर्न नपरोस भनेर नेपाल एम्वुलेन्स सेवाले चितवनको रत्ननगरमा सो एम्वुलेन्स सञ्चालनमा ल्याएको हो ।
एम्वुलेन्सका विषयमा जिल्लाबासी कम जानकार भए रत्ननगर अस्पतालका अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठले भने यो एम्वुलेन्सको बारेमा जानकारी नभएका कारण जिल्लाबासीले यसको उपयोग गर्न पाएका छैनन ।
एम्वुलेन्सको सेवाको वारेमा प्रचार प्रसार गर्न र सेवालाई प्रभावकारी बनाउने विषयमा रत्ननगरका व्यवसायी, वैंक तथा वित्तीय संस्थाका प्रमुख,रत्ननगर नगरपालिकाका प्रतिनिधिहरुसंग छलफल गर्न कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा नेपाल एम्वुलेन्स सेवाका उपाध्यक्ष रञ्जित आचार्यले नेपाल एम्वुलेन्सले प्रदान गरेको सेवाको विषयमा जानकारी गराएका थिए ।
उनले चितवन,पोखरा,भैरहवा सहित काठमाडौंमा गरी १० वटा एम्वुलेन्स सञ्चालनमा रहेको उनले बताए । काठमाडौं उपत्यका भन्दा बहिर पहिलो पटक चितवनमा सो एम्वुलेन्सले सेवा प्रदान गरेको उनले जानकारी दिए ।
वडा नं.२ का वडा अध्यक्ष तिलकराज पौडेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगर अस्पतालका मेसु डा.अजय न्यौपाने, रत्ननगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना, शान्ति मेड नेपालीकी अध्यक्ष डा.रुथ गोन्सेथ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम रत्ननगर उद्योग बाणिज्य संघका उपाध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।