चितवनसहित २५ जिल्लाका २३०० हेक्टर वनमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं चैत २२ । गर्मीयाम सुरु भएसँगै देशको २ हजार ३०३ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको छ।

वन विभागले दिएको जानकारीअनुसार पहाडी तथा तराईका १३ जिल्लाका १०६ वनमा आगलागी भएका हुन्।

सोमध्ये तनहुँको एक वन आगलागी हुँदा तीन हेक्टर, रौतहटका १० वनमा ४४ हेक्टर, मोरङको एक वनमा एक हेक्टर, सिन्धुली १५ वन ३३९ हेक्टर, मकवानपुर १७ वनमा १६५ हेक्टर, ओखलढुंगा पाँच वन ८३५ हेक्टरमा क्षति भएको छ।

यसैगरी, ताप्लेजुङका दुई वनमा १९५ हेक्टर, इलाम ६ वनमा ३३ हेक्टर, धनकुटा सात वन २५३ हेक्टर, रसुवा दुई वन सात हेक्टर, भोजपुर दुई वन आठ हेक्टर, धादिङ ३८ वन ३३५ हेक्टर र गुल्मीमा एक वन ९० हेक्टर क्षति भएको छ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले गर्मीसँगै हावाहुरी र गर्मीका कारण वनमा हुने आगलागी बढेको बताए। उनका अनुसार तनहुँको वनमा भएको आगलागीमा परी ६९ वर्षीय मोहनबहादुर थापाको मृत्यु भएको छ।

आगलागी भएका वनमा, वन कर्मचारी, स्थानीय उपभोक्ता, नेपाल प्रहरी, नेपाली सेनामार्फत आगलागी नियन्त्रणमा लिइएको उनले बताए।

यसबाहेक अर्घाखाँची, बारा, चितवन, दाङलगायतका २५ जिल्लाका वनमा आगलागी भएको तर कति क्षति भयो भन्नेबारेमा आधिकारिक खबर आइनसकेको विभागले जनाएको छ।