रत्ननगरमा राजश्व संकलन अभियान सुरु

रत्ननगर, १८ चैत । व्यवसायीलाई करको दायरामा ल्याउन रत्ननगरमा राजश्व संकलन अभियान सुरु गरिएको छ ।
रत्ननगर उद्योग बाणिज्य संघको सहकार्यमा रत्ननगर नगरपालिकाले राजश्व संकलन अभियान सुरु गरेको हो ।
अभियान अन्तर्गत रत्ननगर ९ गणेशचोकबाट घरदैलो कार्यक्रम सुरु गरिएको नगरपालिकाकी कर शाखा प्रमुख डिम्मेश्वरी पौडेलले जानकारी दिईन । अभियानको मेयर नारायण वन र उपमेयर विमला दुवाडीले उद्घाटन गरेका थिए ।
नगरभित्रका व्यवसायीलाई करको दायरामा आउन,वाँकी बक्यौदा तिर्न र राजश्व तिर्ने कामलाई निरन्तरता दिन आग्रह गर्न घरदैलो अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले जानकारी दिए ।
कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, अन्य पदाधिकारी तथा सदस्य, नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । रत्ननगरमा बार्षिक २५ लाख राजश्व संकलन हुने गरेको छ ।