चित्रवन रंगशाला अलपत्र

चितवन, १८ चैत । पश्चिम चितवनको नयाँ बजार क्षेत्रमा निर्माण थालिएको चित्रवन रंगशाला अलपत्र परेको छ ।
अब अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रस्ताव गर्ने तयारी छ ।रंगशाला बनाउन १० विगाहा अधिग्रहण गरिएको छ ।
त्यहाँ ३३० मिटर कम्पाउण्ड वाल लगाइएको छ भने प्याराफिटको केही काम भएको छ ।
तर, डीपीआर नबन्दा काम अघि बढेन ।बजेट र डीपीआरका कारणले निर्माण अलपत्र परेको रंगशाला निर्माण समितिका सचिव टुकमान गुरुङले जानकारी दिए ।
उनका अनुसार ४ विगाहामा फुटवलको र साँढे पाँच विगाहामा क्रिकेटको स्टेडियम बनाउने योजना छ ।दशरथ रंगशालाभन्दा दोब्वर क्षमताको ३० हजार जना अट्ने प्याराफिट बनाउन सकिने सचिव गुरुङको भनाइ छ ।
दशरथ रंगशाला मा १७ हजार अट्ने क्षमता छ ।
राष्ट्रिय खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिले डिपिआर यो आर्थिक बर्षभित्र बनाउने भनेपनि केही काम नभएको सचिव गुरुङको गुनासो छ ।
तत्कालीन प्रधानमन्त्री प्रचण्डले चितवन प्याकेज अन्तर्गत ५० लाख रकम यो रंगशाला निर्माणमा विनियोजन गरेपनि १९ लाख ३० हजार मात्रैं खर्च भयो ।
बाँकी रकम फ्रिज भयो । युवा तथा खेलकुद मन्त्रालयबाट प्राप्त १५ लाख र चितवन अन्र्तराष्ट्रिय युवा समुहबाट प्राप्त रकमबाट मैदान सम्याउने काम गरिएको छ ।