सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउँछु : मन्त्री बिना मगर

धनगढी,१७ चैत । खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुँचमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमा आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा धेरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताउनुभयो । ‘स्वच्छ खानेपानीको प्रयोग संविधानमै मौलिक अधिकारका रुपमा ईंगित गरिएकाले यो दायित्व पुरा गर्न चुनौति पनि छ,’ उहाँले भन्नुभयो, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु ।’
सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री मगरले बताउनुभयो । उहाँले निर्माणाधिन मेलम्ची आयोजनाको पानी काठमाण्डौंमा छिट्टै वितरण गर्ने गरि आयोजना निर्माणको कामले तीव्रता पाएको जानकारी दिनुभयो ।
आफ्ना दिवंगत श्रीमान प्रकाश दाहाल र क्यान्सरका कारण दिवंगत हुनुभएकी ज्ञानु दाहालको स्मृतिमा आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर १ मा सर्वसाधारणको क्यान्सर जाँच अभियानका लागि मन्त्री मगर धनगढी आईपुग्नुभएको हो ।
भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र ब्रेष्टको क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिनुभयो । कञ्चनपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगर मन्त्री नियुक्त भएपछि पहिलो पटक ७ नम्बर प्रदेश आउनुभएको हो ।