काठमाडौं बासिन्दा आफ्नै बुढीले चिन्ने नि के !

मनहरि तिमिल्सिना

काठमाडौँ, १५ चैत ।  छहरा पाल्पाका ४३ वर्षीय राजवीर मगर ललितपुरको एकान्त कुनामा बस्छन् । उनको साथमा छन् श्रीमति र २ छोरा । उनले जीवन धान्ने पेशा बनाएका छन् मार्केटिङ । बिहान ९ बजे दुःखको गास टिपेदेखि उनको दैनिकी सुरु हुन्छ । मोटरसाइकलमा पौने घण्टाको यात्रापछि मगर बालाजु पुग्छन् ।

दिनभरि मोटरसाइकलमा हिड्छन् उनी । खुद्रा पसलमा ‘अर्डर’ लिन्छन् सामानका लागि । बेलुका ७ बजे घर आउँदा उनको शरीर खैरो रंगमा बदलिन्छ । लुगाफाटा पनि उस्तै । भन्छन्, ‘कपडाको रंग नै बदल्न सक्ने शक्ति छ काठमाडौंको धुलोसँग ।’ तर, धुलोसँगै मितेरी उनको जीवनको यथार्थ हो ।

पशुपति गौशालामा बस्ने ४० वर्षीय सन्त तामाङ फुटपाथमा चटपट बेच्छन् । चटपटकै व्यापारबाट धानिन्छ उनको पाँच जनाको परिवार । बेलुका चावहिल पुग्दा उनी पनि धुलाम्मे हुन्छन् । हाँस्दै भन्छन्, ‘दिनमा एक पाउ धुलो त खाइन्छ होला । कहिलेकाँही त बेलुका घरका को हो भनेर झुस्किन्छन्’ तामाङ थप्छन्, ‘आफ्नै बुढीले चिन्ने नि के काठमाडौं बासिन्दा !’

धुलो मात्र होइन, काठमाडौंको जाम पनि उस्तै छ । लोकन्थली बस्ने शारदा नेपाल लैनचौरसम्म पुग्न झण्डै डेढ घण्टा लाग्छ । अफिसमा विद्युतीय हाजिर छ उनको । त्यसैले ८.३० बजे नै निस्किन्छिन् उनी । सरासर जाँदा ३० मिनेटको बाटो जामले कम्तिमा डेढ घण्टा लाग्छ । ‘कहिलेकाँही त ११ बज्छ अफिस पुग्दा’ उनी भन्छिन् ।

धुवाँ, धुलो र जामले काठमाडौंको दैनिक अस्तव्यस्त नै छ । ‘टिँटिँ’ को हर्न निषेध गरिए पनि गाडीहरुको ‘घार्रघुर्र’ उस्तै छ । भनेकै समयमा ठाउँमा पुग्नु म्याराथुन जितेजस्तो लाग्छ यहाँ । जाम र गाडीको ‘घार्रघुर्र’ले ब्लड प्रेसरका रोगी मात्र बढेका छैनन्, दमको व्यथा खेप्नेहरु पनि प्रशस्तै छन् ।

अहिले चक्रपथको सडक निर्माणको चरणमा छ । तर, काम अति सुस्त । दिनभरि काठमाडौं पैदल हिड्नेहरु चिन्न मुस्किलै पर्छ । मोटरसाइकल, साइकल र स्कुटीमा हिड्नेहरुको हालत पनि उस्तै । धुलोमाथि जाम थपिएपछि काठमाडौंबासीका लागि ‘नर्क’ खोज्न अन्त जानु पर्दैन । तर, ‘सम्भावनाको शहर’को पद्वी दिँदै बस्छन् ३५ लाख नेपाली ।

पानीको काकाकूल पनि उस्तै छ यहाँ, दिनभरिको धुलो पखाल्ने पानी पाउन मुस्किल । एक धारामा पानी आउँदैन, आइहाले रंग बदलेर आउँछ । मेलम्चीको सपना बोकेर बाजे बिते, बाबू लठ्ठी टेक्दैछन्, छोरो पनि दशैंमा धाराको पानी कल्पेर निदाउँछ । तर, अहिले पनि मेलम्चीमाथि भर परिहाल्न सक्ने देखिन्नँ ।

नेपाल प्रकृतिको सुन्दर उपहार, जलस्रोतको दोस्रो धनी देश । हामीकहाँ सगरमाथादेखि लुम्बिनी, पशुपतिनाथदेखि मुक्तिनाथसम्मका प्राकृतिक र ऐतिहासिक सम्पदा छन् । यिनै सम्पदा हेर्न वर्षेनी लाखौं पर्यटकको पहिलो आँखा पर्छ काठमाडौंमा । तर, यहाँको वातावरणले पर्यटकको पहिल्यै मनस्थिति बदलिन्छ । यो हाम्रा लागि चुनौति मात्र नभएर लज्जाको विषय पनि हो ।

यी यावत समस्याबारे सरकार बेखवर पक्कै छैन । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता हिड्ने सडक पनि त्यही हो । फरक यत्ति छ, जनता मास्क लगाउँछन्, नेता कालो सिसा । तर, नेता र जनताले हेर्ने दृष्य भने उस्तै । समस्या समाधानका लागि प्रयास नभएको पनि होइन । तर, परिणाम सधैं भ्यागूताको धार्नीजस्तो ।

ललितपुर ग्वार्कोको चक्रपथ पीच भएको महिना दिन कटेको छैन । तर, खानेपानी विभागले फेरि सडक खन्दैछ । हामीकहाँ एकीकृत विकास आयोजनाको नीति नै छ । सडक विभागले रोड पीच गर्छ, खानेपानी विभाग आउँछ र पाइप बिच्छाउन खाडल खन्छ । विद्युत प्राधिकरण आउँछ, बिजुलीको पोल गाड्छ, ढल विभाग आउँछ र कालोपत्रे उप्काउँछ । सडक सधैं व्यस्त र निर्माणाधीन मात्र ।

काठमाडौंको धुवाँ, धुलो र जाम व्यवस्थापन दीर्घकालीन चुनौति नै बनेको छ । हर्न निषेध, २० वर्ष पुराना गाडीको बिस्थापनजस्ता प्रयास पक्कै सह्रानीय छन् । तर, त्यतिले मात्रै समस्या समाधान हुँदैन । उपत्यकाभित्र विद्युत, खानेपानी, सडक, टेलिकम, ढल लगायतका कामहरुको समन्वय गर्न एकीकृत विकास प्राधिकरणको कुरा नउठेको पनि होइन । तर, कार्यान्वयनका लागि व्यवहारिक प्रयास हुन सकेको छैन ।

ट्राफिक प्रहरीको दुःख पनि उस्तै छ । यी सम्पूर्ण बेथितिको व्यवस्थापन उनीहरुकै थाप्लोमा छ । उनीहरुका दुःख न यात्री बुझ्छन्, न नीति निर्माता । धुवाँ, धुलोका बीच १२ घण्टे ड्युटीले उनीहरु विभिन्न स्वास्थ्य समस्याका शिकार भइरहेका छन् । तर, केही प्रतिशत प्रोत्साहन भत्तामै चित्त बुझाउँछन् ट्राफिक प्रहरी ।

बेथितिको एक कारण अवसरको खोजीमा काठमाडौं आउनेहरुको चाप पनि हो । यसलाई त्यसै रोक्न सकिन्नँ । संघीयताले काठमाडौंको चाप घट्ने अनुमान थियो । तर, तल्ला तहहरु व्यवस्थित बनिनसक्दा मान्छे फर्कने सुरसारमा छैनन् । त्यसका लागि अझै केही वर्ष कुर्नैपर्छ । त्यतिञ्जेल चल्दै जान्छ भन्न पनि पक्कै मिल्दैन ।

काठमाडौं व्यवस्थापनको सबैभन्दा उत्तम बिकल्प एकीकृत विकास प्राधिकरण नै हो । यो उपत्यकाका लागि मात्र होइन, सबै नगरपालिकामा जरुरी देखिन्छ । एकीकृत नीति बनेमा निर्माणको काममा मात्र नभएर नीति निर्माणमा पनि राम्रो तालमेल हुन सक्छ । के सरकारले यतातिर ठोस कदम चाल्ला ? यो भने भविष्यले बताउला ।