न्याय सेवा आयोगले सार्वजनिक गर्‍यो जिल्ला न्यायाधीशको अन्तिम सूची (नामसहित)

 

काठमाडौं, चैत १५  । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको पदपूर्तिका लागि लिएको लिखित परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

आयोगले जिल्ला न्यायाधीशका लागि ३० जनाको विज्ञापन गरेर परीक्षा लिए पनि उक्त परीक्षाबाट १६ जना मात्र उत्तीर्ण हुन सफल भएका छन्। ३० पदका लागि ४ सय २४ जनाले आवेदन दिएका थिए। परीक्षामा ३ सय ७३ जना सहभागी थिए। समावेशी अन्तर्गत रहेको मधेसी र दलित कोटामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्। उत्तीर्ण हुनेमा अधिकांश न्याय सेवाका कर्मचारी छन्। १४ जना न्याय सेवाका कर्मचारी उत्तीर्ण हुँदा तीन जना सरकारी वकिल समूहका कर्मचारी उत्तीर्ण भएका छन्।

पहिलो पटक जिल्ला न्यायाधीश खुला प्रतिस्पर्धाबाट भएको पदपूर्तिमा करिब दुई सय कानुन व्यवसायीले सहभागिता जनाएका थिए। तर उनीहरु लिखित रुपमा पास हुन सकेनन्। आयोगले उक्त परीक्षामा पास हुनेहरुको अन्तिम सूची सार्वजनिक गरेको हो। अब केही दिनमा न्याय परिषदले उनीहरुलाई विभिन्न जिल्लामा न्यायाधीशको रुपमा पठाउनेछ।

यसअघि जिल्ला न्यायाधीश प्रतिस्पर्धाबिना नै परिषद्‌ नै सोधै न्याय, कानुन र सरकारी वकिल समूहबाट गर्ने गरेको थियो। तर कानुन व्यवसायीहरुले जिल्ला न्यायाधीश बनाउँदा बारको प्रतिनिधित्व नभएको भन्दै ५० प्रतिशत कोटा माग गरेको थियो। उनीहरुको माग बमोजिम नयाँ संविधानमा केही प्रतिशत लिखित जवाफवाट जिल्ला न्यायाधीश पूर्ति गरिने व्यवस्था गरिएको थियो। संविधानको सोही व्यवस्था कार्यान्वयन गर्दै न्याय सेवा आयोगले विज्ञापन गर्दै परिक्षा सञ्चालन गरेको थियो।